सक्कली हात्ति झोलामा हाल्न सकिदैन, गृहमन्त्रीको राजीनामा आउँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन् ।
शनिबार काठमाडौंमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने बताए ।
ओलीले भने, ‘म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर, माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ ।’
‘गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो,’ ओलीले भने, ‘बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।’
प्रधानमन्त्री ओलीले भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सीआईबीले सहकारी ठगीमा अनुसन्धान गरेको थियो । त्यो बेला लामिछानेविरुद्ध मुद्दा नै दायर भएको थियो । त्यसपछि तत्कालीन गृहमन्त्री लामिछानेको राजीनामा माग भएको थियो ।
‘यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
३५ किलो सुन तस्करीका बेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । अर्थमन्त्री माओवादी नेता वर्षमान पुन थिए । त्यो बेला उनीहरूको राजीनामा माग किन आएन ? भनेर ओलीले नाम नलिएर प्रश्न उठाएका छन् ।
बच्चाहरूले झोला वा खेलौना हात्ति किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तिलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने ओलीले बताएका छन् ।

कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकांक्षा–धु्रवीकरणहरू हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्ने तर, आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
संसदमा प्रस्तुत बजेटका सन्दर्भमा कान्तिपुरका सम्पादकबाट सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको बताए । उनले भने, ‘हामीलाई त्यसै पपुलिष्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ ।’
‘हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथुनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया