शास्त्रीको निधनसँगै भोजपुर कांग्रेसले अभिभावक र अग्रज व्यक्तित्व गुमायो : नेता चापागाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता उत्तम चापागाईंले पार्टीका पूर्व केन्द्रीय सदस्य हेमराज अधिकारी ‘शास्त्री’को निधनबाट भोजपुर कांग्रेसले अभिभावक गुमाएको बताएका छन् ।
शनिबार शोक वक्तव्य जारी गरेर नेपाल तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका नेता चापागाईंले अधिकारीको निधनप्रति गहिरो शोक प्रकट गरेका हुन् ।
अधिकारीको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको नेता चापागाईंले बताएका छन् ।
तरुण नेता चापागाईंले भने, ‘नेपाली कांग्रेसका पुराना नेता हेमराज अधिकारी ‘शास्त्री’को निधनको खबरले मलाई अत्यन्त दुखित् र मर्माहत बनाएको छ ।’
‘स्व.अधिकारीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ चापागाईंले भनेका छन् ।
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’, तरुण दलका पूर्वउपाध्यक्ष चापागाईंले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
भोजपुर कांग्रेसका पूर्व सभपाति समेत रहेका अधिकारीको ९४ वर्षको उमेरमा जेठ १३ गते अमेरिकामा निधन भएको नेता चापागाईंले बताएका छन् ।
नेपाली कांग्रेसको सातौं महाधिवेशन २०१७ पश्चात विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा अधिकारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेका थिए । अधिकारीको जन्म विक्रम संवत् १९८८ सालमा भोजपुरको दिङ्गलामा भएको थियो ।
स्व.अधिकारीको ‘आजको नेपाल’ लगायतका पुस्तकहरू समेत प्रकाशित छन् ।
यसैबीच, स्व.अधिकारीको अमेरिकामा अन्तिम दाहासंस्कार गरिने कार्यक्रम रहेको कांग्रेस नेता चापागाईंले बताएका छन् । अमेरिकाको स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे दिउँसो अन्तिम दाहासंस्कार हुनेछ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया