नेपाल–चीनका परराष्ट्रमन्त्रीबीच भेट, वाङलाई नेपाल भ्रमणको निम्तो

हङकङ । परराष्ट्रमन्त्री डा आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेट भएको छ ।
शुक्रबार हङकङमा डा.राणा र वाङबीच द्विपक्षीय भेटवार्ता भएको हो । चीनका विदेशमन्त्री वाङको निमन्त्रणामा डा.राणा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी भएकी छिन् ।
भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयहरूमा कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गरेकी छिन् । उनले एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरेकी छिन् ।
आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानी लगायतका विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
डा.राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहो¥याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद दिएकी छिन् । नेपाल–चीनबीचमा केही वर्ष यतादेखि भइरहेका उच्चस्तरीय भ्रमणहरूका बारेमा चर्चा गर्दै प्रधानमन्त्री केपी ओलीद्वारा गत डिसेम्बरमा गरिएको चीनको औपचारिक भ्रमण र त्यस अवसरमा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयका बारेमा पनि कुराकानी भएको थियो ।
यस वर्ष नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ बार्षिकोत्सव मनाइरहेकाले यसै अवसरमा नेपालको भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री डा.राणाले निमन्त्रणा पनि दिएकी छिन् । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइएकाले यस वर्ष नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई स्वागत गर्न नेपाल इच्छुक रहेको पनि डा.राणाले बताएकी छिन् ।
चीनका विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका भएका सहमति र सम्झौताहरूको कार्यान्वयन अघि बढाउन डा.राणामार्फत् नेपाल सरकारलाई आग्रह गरेका छन् ।
डा.राणाले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने वाङले बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया