वीपी कोइरालाको कार्यसमितिका केन्द्रीय सदस्य अधिकारीको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हेमराज अधिकारी ‘शास्त्री’को ९४ वर्षको उमेरमा निधन भएको छ ।
भोजपुर कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका अधिकारीको जेठ १३ गते अमेरिकामा निधन भएको कांग्रेसद्वारा शुक्रबार जारी भएको शोक वक्तव्यमा उल्लेख छ ।
नेपाली कांग्रेसको सातौं महाधिवेशन २०१७ पश्चात जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा अधिकारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेका थिए ।
स्व.अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरू र संघर्षहरूका क्रममा जेल जीवन समेत व्यतित गरेका कांग्रेसले जनाएको छ ।
स्व.अधिकारी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको पूर्व महासचिव समेत रहेका थिए ।
अधिकारीको जन्म विक्रम संवत् १९८८ सालमा भोजपुरको दिङ्गलामा भएको थियो । स्व.अधिकारी विभिन्न संघ संस्थाहरूमा आवद्ध रहनुका साथै लेखन कार्यमा समेत सक्रिय रहेका थिए ।
स्व.अधिकारीको ‘आजको नेपाल’ लगायतका पुस्तकहरू समेत प्रकाशित छन् । अधिकारीको निधनबाट नेपाली कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले भने, ‘नेपाली कांग्रेसका पुराना नेता हेमराज अधिकारी ‘शास्त्री’को निधनको खबरले मलाई अत्यन्त दुखित् र मर्माहत बनाएको
छ ।’
‘स्व.अधिकारीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ देउवाले भने ।
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’, सभापति देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
कांग्रेसले स्व.अधिकारीप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम निर्धारण गरेको जनाएको छ ।
कांग्रेसले २०८२ जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र सम्बन्धित जिल्ला भोजपुरमा शोक पुस्तिका राख्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।
स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्ला भोजपुरमा शोक सभाको आयोजना गर्ने निर्णय भएको शोक वक्तव्यमा उल्लेख छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया