विमानस्थल सुरक्षा र भिजिट भिसामा प्रदीप-जगन्नाथसँग बयान लिन माग, गृहमन्त्री बने भिक्टिम

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्ड १५ अर्ब भ्रष्टाचारमा डामिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक जगन्नाथ निरौलालाई बनाएपछि बेथितिहरू ह्वात्तै बढेका छन् ।

निरौला महाप्रबन्धक बनेपछि विमानस्थलभित्रै हवाई दुर्घटनाहरू भइसकेका छन् । विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भयो । नुवाकोट र काठमाडौंको सिमानामा हेलिकप्टर दुघटना भएको थियो ।

विमानस्थलबाट मानव तस्करी भएको भनेर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेर गृहमन्त्री रमेश लेखकलाई दोषारोपण गरी राजीनामा माग गरेका छन् । विमानस्थल सुरक्षा समितिको संयोजक महाप्रबन्धक हुने व्यवस्था छ । महाप्रबन्धक निरौलाले विमानस्थलभित्रको सुरक्षा कमजोरी हुँदा त्यसको नैतिक जिम्मेवारी लिनुपर्नेमा पुच्छर लुकाएर हिँडेका छन् । निरौला यो विषयमा चुइक्क पनि बोलेका छैनन् ।

हुन त निरौला लेखापाल हुन् । तर, महानिर्देशक अधिकारीले निरौलालाई नियमावली विपरित विमानस्थलको महाप्रबन्धक बनाए । विमानस्थलको महाप्रबन्धक प्राविधिक सेवाको व्यक्ति हुनुपर्ने व्यवस्था हुँदाहुँदै व्यापारी, ठेकेदार, बिचौलियाहरूसँग सेटिङ गर्नका लागि निरौलालाई अधिकारीले महाप्रबन्धक बनाएर लगेका हुन् । सुन काण्ड, डलर काण्ड, मानव तस्करी लगायतमा सेटिङ गर्न कै लागि निरौलालाई महाप्रबन्धक बनाइएको आरोप प्राविधिक कर्मचारीहरू र वायुसेवा सञ्चालकहरूले लगाएका छन् । यो विषयमा गृह मन्त्रालययमा पनि गम्भीर छलफल भएको छ ।

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको प्रकरण बाहिर आएपछि महाप्रबन्धक निरौलामाथि पनि गम्भीर प्रश्न उठेको छ । यो प्रकरणमा महाप्रबन्धक निरौलालाई निलम्बन गरेर छानविन तथा अनुसन्धान गर्नुपर्ने माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । गृह मन्त्रालयमा पनि प्राधिकरणका महानिर्देशक अधिकारी र विमानस्थलका महाप्रबन्धक निरौलाको असक्षमताका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

१२ तहमा भएका ६ जनामध्ये सबैभन्दा जुनियर र कार्यसम्पादनमा कमजोर रहेका निरौला १७ करोडको आईटी सफ्टवेर खरिद घोटालामा अख्तियारमा लगातार बयान दिँदै आएका छन् । १७ करोड घोटालामा महाप्रबन्धक निरौला कुनै पनि दिन निलम्बनमा पर्न सक्ने छन् । निरौलाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचरको मुद्दा दर्ता गर्ने तयारी गरिरहेका बेला मानव तस्करीको काण्ड बाहिर आएपछि निरौलामाथि पनि प्रश्न उब्जिएको हो । विमानस्थलभित्रको बेथितिको जिम्मेवारी निरौला र अधिकारीको पनि रहन्छ ।

खरिद र कमिशनमा मात्रै ध्यान दिने महाप्रबन्धक निरौलाले सार्वजनिक खरिद ऐन विपरित टुक्रे खरिदमा निकटका ठेकेदार, बिचौलिया र आसेपासेलाई खरिदको काम दिएर बदनामी कमाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत कर्पोरेट महाशाखामा एक वर्षभित्र महानिर्देशक अधिकारीले आफूले भने बमोजिम काम नगरेको भन्दै दुई कर्मचारीलाई हेटाउने र जिम्मेवारी दिने कार्य भइसकेको छ ।

ठेक्कापट्टा हुने विमानस्थलभित्रका पसलहरूमा महानिर्देशक अधिकारीले भनेअनुसार व्यापारी, ठेकेदार, दलालहरूलाई करोडौं रुपियाँमा सेटिङ गरी ठेक्का लगाउने गरेको र तिनै बिचौलियाहरूले भनेअनुसार खाली भएका कोठाहरूमा वर्षौंसम्म ठेक्का नलगाएर करोडौं रुपियाँ प्राधिकरणलाई क्षति पु¥याएका छन् । यो क्षतिको जिम्मेवारी निरौला र अधिकारीले लिनुपर्ने विमानस्थलमा कार्यरत कर्मचारीहरूको भनाइ छ ।

महानिर्देशक अधिकारी र महाप्रबन्धक निरौलाविरुद्धका विमानस्थलभित्र भएका घोटाला, अनियमितता र सेटिङका बारेमा निरन्तर समाचार प्रकाशित गरिनेछ ।

१७ करोड सफ्टवेर खरिद घोटालामा मुछिएका र अख्तियारमा निरन्तर बयान दिइरहेका महाप्रबन्धक निरौला प्राधिकरणको महानिर्देशक बन्ने दौडमा रहेको समाचार क्रमशः विवरणसहति प्रकाशित हुनेछ ।

Published : Thursday, 2025 May 29, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया