मन्त्री न्यौपानेद्वारा बजेटका विषयमा लुम्बिनी प्रदेश सभा सदस्यहरूसँग छलफल

मसुरिया । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्योग, पर्यटन र यातायात व्यवस्था क्षेत्रको उचित व्यवस्थापन हुने गरि बजेट विनियोजन गरिने बताएका छन् ।
बिहीबार देउखुरीको मसुरियामा लुम्बिनी प्रदेश सभाका सदस्यहरूसँगको छलफलमा मन्त्री न्यौपानेले भने, ‘उद्योग, पर्यटन र यातायात व्यवस्था क्षेत्रको समुचित विकासका लागि मन्त्रालय गम्भीर छ, सोही अनुसार बजेट निर्धारण हुनेछ ।’
मन्त्री न्यौपानेले भने, ‘पर्यटन विकासका लागि ठूला योजनाहरूमा लगानी गरेर प्रतिफल आउने वातावरण निर्माण गरिने छ ।’ बाह्य पर्यटकहरूको आगमन बढाउनु चुनौती रहेको भन्दै मन्त्री न्यौपानेले आगामी वर्ष धेरै पर्यटकहरूलाई भित्र्याउने योजना मुताबिक बजेट सुनिश्चितता गरिने बताए ।
उनले लुम्बिनीको पर्यटन विकासका लागि लुम्बिनी विकास प्राधिकरण निर्माण गरिने बताएका छन् ।
लुम्बिनी प्रदेश सभाका सदस्यहरूले मन्त्री न्यौपानेसँग पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारसंग आग्रह गरे ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले आगामी वर्षका लागि विनियोजन हुने बजेट र तर्जुमा हुने योजनाका विषयमा सुझाव लिन कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन विकास अपरिहार्य रहेको र यसका पर्यटन विकासका लागि पर्यटन पूर्वाधार विकास अपरिहार्य रहेको उनीहरूले बताए ।
स–साना योजनामा लगानी नगरेर ठूला पर्यटकीय स्थलहरूमा मात्रै लगानी गरिनुपर्ने उनीहरूको सुझाव छ । पर्यटन क्षेत्रमा हुने लगानीले प्रतिफल समेत दिलाउनु पर्नेभन्दै उनीहरूले प्रतिफल दिने खालका पर्यटकीय क्षेत्रहरूमा मात्रै लगानी गरिनु पर्ने सुझाव दिए ।
‘प्रमुख पर्यटकीय स्थलहरू चयन गरौँ र यस्ता प्रमुख थलोहरूमा मात्रै लगानी गरौँ,’ एमाले लुम्बिनी प्रमुख सचेतक तुलसी चौधरीले भने, ‘सरकारले गर्ने लगानीबाट प्रतिफल आउने हिसावले योजना तर्जुमा गर्न जरुरी छ ।’
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले लुम्बिनीका पर्यटकीयस्थलमा लगानी गर्नुका साथै अधुरा योजनाको पूर्णतामा ध्यान दिइनु पर्ने बताए । ‘नयाँ ठूला योजनामा लगानी गरेर पर्यटन प्रवर्धन गर्ने कुरा त भैहाल्यो,’ चौधरीले भने, ‘यसका साथै अधुरा पुराना योजनालाई पनि पूर्णता दिइनु पर्छ, अधुरा योजना रहनुले प्रदेश सरकार माथिनै प्रश्न उठ्छ ।’
कांग्रेसका प्रदेश सभा सदस्य वीरबहादुर रानाले बजेटको उचित व्यवस्थापन हुने गरि योजनामा लगानी गरिनु पर्ने बताए । ‘बजेट धेरै थोरै जे भएपनि प्राथमिकता निर्धारण गरेर योजनामा लगानी गरौँ,’ उनले भने, ‘प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेर लगानी गर्ने वातावरण बन्यो भने पर्यटकीय पूर्वाधारमा टेवा पुग्छ ।’
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य राजकुमार चौधरीले पर्यटकहरूको आगमन बढाउनका लागि प्रचार प्रसार आवश्यक रहेको बताए । यसका लागि पर्यटकीय स्थलहरूको चिनारी बिमानस्थलहरूमा राखिनु पर्ने सुझाव दिए ।
उद्योग क्षेत्रका बारेमा सुझाव दिँदै प्रदेश सभा सदस्यहरूले नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्ने गरि एक वर्षसम्मको कर छुटको व्यवस्था गरिनु पर्ने सुझाव दिए ।
उनीहरूले हाल रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई चलायमान बनाउनका लागि सहुलियतको व्यवस्थापन गरिनु पर्ने सुझाव दिएका छन् ।
‘नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्नका लागि एक वर्षसम्मको कर छुटको व्यवस्था सरकारले गर्नुपर्छ,’ कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले भने, ‘रुग्ण अवस्थाका उद्योगहरूलाई समेत चलायमान बनाउनका लागि उनीहरूलाई सहुलियतको व्यवस्था गरिनु पर्छ ।’
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया