कांग्रेस नेता खड्काको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ ।
दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ७ स्थित आफ्नै निवासमा बिहीबार बिहान ६ बजे निधन भएको कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पूर्वसभापति खड्का विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेका थिए । विक्रम संवत् १९९९ श्रावण १९ गते जन्मिएका स्व.खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला सभापति रहेका थिए ।
‘नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा उहाँले पटक–पटक जेल जीवन, प्रहरी हिरासत र यातना समेत व्यहोर्नु भएको थियो,’ कांग्रेसले भनेको छ ।
‘विक्रम संवत् २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा र २०६४ मा संविधान सभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट उहाँ निर्वाचित हुनु भएको थियो,’ कांग्रेले भनेको छ ।
‘२०५६ मा उहाँ सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो,’ कांग्रेसले भनेको छ, ‘विक्रम संवत् २०५२ मंसिरमा उहाँ भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र २०६४ मा संविधान सभा सदस्य निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री हुनुभएको थियो ।’
पूर्वराज्यमन्त्री स्व.खड्काले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए ।
शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका गणेशबहादुर खड्काको निधनबाट नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ ।’
कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेस दैलेखका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गणेशबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुखित् र मर्माहत बनाएको छ,’ देउवाले भने ।
‘स्व.खड्काले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ सभापति देउवाले भने ।
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया