कांग्रेस महामन्त्री थापाद्वारा गृहमन्त्री लेखकको बचाउ, इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्नुभएको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै गृह मन्त्रालयको जिम्मेवारी इमान्दारिताका साथ बहन गरेको बताएका छन् ।

बुधबार प्रेस नोट जारी गरेर महामन्त्री थापाले विगतमा जस्तै गरी अहिले पनि लेखकले गृहमन्त्रीको जिम्मेवारी इमान्दारी र कुशलतापूर्वक बहन गरेको बताए । उनले भने, ‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ । गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै इमान्दारिता साथ निर्वाह गरिरहनु भएको छभन्ने हाम्रो पूर्ण विश्वास छ ।’

महामन्त्री थापाले भने, ‘अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठह¥याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ ।’

महामन्त्री थापा सुनसरीको धरानमा आयोजित कार्यक्रममा भाग लिन पुगेका छन् । पार्टीको कार्यक्रममा दिएको अभिव्यक्तिलाई बङ्ग्याएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचकहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरेको भनेर महामन्त्री थापाविरुद्ध भ्रामक कुराहरू फैलाएका थिए । महामन्त्री थापाले गृहमन्त्री लेखकको राजीनामा माग गरेको भनेर भ्रामक कुराहरू आएपछि खण्डन गरेका छन् ।

राजनीतिक प्रतिशोध राखेर नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद अबरुद्ध बनाएका छन् । गृहमन्त्री लेखकविरुद्ध राजनीतिक पूर्वाग्रही भएर हमला भइरहेका बेला कांग्रेसका शक्तिशाली र लोकप्रिय महामन्त्री थापाले लेखकको बचाउ गरेका छन् ।

Published : Wednesday, 2025 May 28, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया