कांग्रेस देशकै समावेशी पार्टी हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायको पुस्तौंदेखिको परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले आदिवासी जनजातिको सशक्तीकरणमा ध्यान दिएको बताए । उनले यो देशकै समावेशी पार्टी कांग्रेस भएको बताएका छन् ।

उनले भने, ‘कांग्रेसको नेतृत्वमा प्राप्त ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ छ, संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन हामी लाग्नेछौँ, आदिवासी जनजातिलगायतका समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरुआत कांग्रेसको नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु ।’

‘आदिवासी जनजाति समुदायका पुस्तौंदेखिको परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध छ,’ सभापति देउवाले भने ।

देउवाले संविधानमा व्यवस्था गरिएका आदिवासी जनजाति आयोग, थारू आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई स्रोत र साधनसम्पन्न बनाउन कांग्रेस सचेत रहेको बताए । उनले कांग्रेस स्थापनाकालदेखि नै आदिवासी जनजातिको हितमा सक्रिय रहेको बताएका छन् ।

उनले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको कार्यान्वयनमा पार्टी दृढ रहेको बताए ।

संविधान संशोधन गर्दा आदिवासी जनजातिका उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउने आफूहरूको चाहना रहेको उनले स्पष्ट पारे। देउवाले आदिवासी जनजातिलगायत समुदायका चाडपर्वलाई राष्ट्रिय पहिचान दिने कार्यको सुरुआत कांग्रेस नेतृत्वको सरकारले गरेको बताए ।

Published : Wednesday, 2025 May 28, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया