भिजिट भिसा प्रकरणमा नयाँ ट्वीस्ट : गृहमन्त्री लेखकसँगै उपसभामुखले पनि राजीनामा दिनुपर्ने दबाब

काठमाडौं । भिजिट भिसा प्रकरणमा यतिखेर मुलुकमा राजनीतिक गतिरोध उत्पन्न भएको छ । सरकारले हिजो (मंगलबार) संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेकोमा विपक्षीहरूले संसद अवरोध गर्दा आज (बुधबार)का लागि संसद बैठक राखिएको छ ।
आज बुधबार पनि संसद बैठक के हुन्छ भन्ने सक्ने अवस्था छैन । किनभने विपक्षीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् ।
भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्रीमाथि लागेको छ । यसै प्रकरणमा अध्यागमनका विमानस्थल प्रमुख तीर्थ भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियारले सोधपुछ गरिरहेको छ ।
त्यसैले यदि गल्ती गरेको भए गल्ती गर्ने कर्मचारीलाई कारबाही होस् तर कर्मचारीले कुनै अनियमितता गर्दा मन्त्रीले किन राजीनामा दिनुपर्ने भन्ने तर्क गृहमन्त्री स्वयं लेखकको छ । नेपाली कांग्रेसले पनि सोही तर्क अघि सारेको छभने उता प्रधानमन्त्री केपी ओलीले पनि अहिले नै यसै विषयलाई लिएर राजीनामा दिनुपर्छ भन्ने मनसाय गलत रहेको बताएका छन् ।
विपक्षीहरूले भने गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडानमा छन् । उनीहरू गृहमन्त्रालयको आडमा मुलुकमा मानव तस्करी भइरहेको आरोपमा लगाइरहेका छन् । यतिखेर सरकारलाई संसद बैठक अन्त्य गर्न पाउने सुविधा पनि त्यति छैन किनभने जेठ १५ गते आगामी वर्षको बजेट ल्याउनुपर्नेछ । जसरी हिजो (मंगलबार)को आर्थिक सर्वेक्षणको कार्यसूची सरकारले अघि सार्यो त्यसरी जेठ १५ गते बजेट ल्याउने कार्यक्रमलाई पछि सार्न मिल्दैन । किनभने सरकारले प्रत्येक वर्ष जेठ १५ मा बजेट ल्याउनुपर्ने कुरा संविधानमै व्यवस्था रहेको छ ।
सरकारले संसद बैठकको अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन त सक्छ । तर, त्यो मुडमा सरकार छैन । त्यसैले भोलिका लागि बजेट पेश गर्नका लागि जसरी पनि संसद बैठक खोल्नुपर्ने बाध्यतामा सरकार छ । यसै विषयमा आज (बुधबार)अर्काे परिस्थिति के विकसित भएको छभने यस्तै प्रकृतिको अभियोगमा हिजो उपसभामुख इन्दिरा राना मगर पनि विवादमा मुछिएकाले उनले पनि राजीनामा दिनुपर्ने कुरा सतहमा आएको छ ।
उपसभामुख राना मगरले पनि असम्बिन्धत कुनै व्यक्तिहरूलाई भिसा दिनका लागि आफ्नो लेटर हेडमा सिफारिश गरेर अमेरिकी दूतावासलाई चिठी लेखेकी थिइन् । उनले आफ्नो कार्यक्रमको भिसा लगाएर विदेश छोड्नका लागि ती असम्बन्धित व्यक्तिहरूलाई भिसाको लागि यो चिठी लेखेकी थिइन् ।
बजेटको मुखमा आएर सरकार अप्ठेरोमा परेपछि यता, नेपाली कांग्रेस र उता, नेकपा (एमाले)का बैठकहरू बसिरहेका छन् । विभिन्न तहमा बसेका बैठकहरूमा यदि यही कारणले अहिले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था विपक्षीहरूले बनाउने हो भने यस्तै प्रकृतिको विवादमा उपसभामुखले पनि राजीनामा दिनुपर्ने भन्ने विषय उठेको समाचार स्रोतले बताएको छ ।
एक छानबिन समिति सरकारले गठन गर्ने र यी दुवै विवादको निराकरण नहुञ्जेलसम्मका लागि गृहमन्त्री र उपसभामुख दुवैले राजीनामा दिनुपर्ने कुरा दुवै सत्तारुढ दलका बैठकहरूमा उठेको नेपाली कांग्रेसको समाचार स्रोतले बताएको छ ।
सो समाचार स्रोत भन्छ– केहीअघि निकै विवादमा आएकी उपसभामुख राना मगरले आफै राजीनामा नदिएपछि संसदमा महाअभियोग लगाउनुपर्ने आवाज उठेको थियो । प्रधानमन्त्री ओली र उनको पार्टीले महाअभियोग लगाउनुपर्ने अडान राखेको भए पनि यता कांग्रेस सभापति महाअभियोगका पक्षमा नभएकाले त्यो सम्भव हुन सकेन । यदि अहिले अब गृहमन्त्री लेखकको राजीनामाको बटम लाइन रास्वपाले बनाउने हो भने दुवैले राजीनामा दिनुपर्ने परिस्थिति निर्माणका लागि कांग्रेस नै लाग्न सक्नेछ ।
यस विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीच हिजो (मंगलबार)देखि पटक पटक कुराकानी भएको सो समाचार स्रोतले बताएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया