आवश्यकता र औचित्यका आधारमा बजेट ल्याउन बागमती कांग्रेसको मुख्यमन्त्री र मन्त्रीहरूलाई निर्देशन

हेटौँडा । नेपाली कांग्रेस बागमतीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र आफ्नो कांग्रेसबाट मन्त्री बनेकाहरूलाई आवश्यकता र औचित्यका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देशन दिएको छ ।

मंगलबार बसेको बागमती कांग्रेस र संसदीय दलको संयुक्त बैठकले मुख्यमन्त्री लामालाई बागमती प्रदेशको पहिचान हुनेगरी नीति तथा कार्यक्रम बनाउन सभापति ईन्द्रबहादुर बानियाँले निर्देशन दिएका हुन् । उनले बजेटले जनताको दैनिक जीवनमा राहत हुने गरी प्रत्यक्ष प्रभाव पार्नुपर्ने बताए ।

बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यको आधारमा प्रदेशको पहिचान हुनेगरी नीति तथा कार्यक्रम बनाई बजेट निर्माण गर्न बागमती कांग्रेसका सभापति बानियाँले निर्देशन दिएको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताए । उनले भने, ‘नेपाली कांग्रेस बागमतीको निर्देशन, सुझाव र सल्लाह तथा संसदीय दलको मार्गनिर्देशनमा नीति तथा कार्यक्रम र बजेट ल्याउन हामी प्रतिवद्ध छौँ ।’

बागमती प्रदेशमा पछाडि परेका भूगोल र सीमान्तकृत, दलित, अल्पसंख्यक, अपाङ्गलगायतलाई निःशुल्क शिक्षा, किसान, महिला र युवा रोजगारलाई समेटेर नीति तथा कार्यक्रम ल्याई बजेट ल्याउन मुख्यमन्त्री लामा र मन्त्रीहरूलाई निर्देशन दिएको सभापति बानियाँले बताए ।

बागमती कांग्रेसका सभापति बानियाँले कांग्रेसले बजेट ल्याउँदा त्यसले जनतालाई राहत दिनुका साथै दीर्घकालीन सहयोग गर्नुपर्ने बताएका छन् । सभापति बानियाँले सरकारलाई बजेट ल्याउन आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता पनि मुख्यमन्त्री लामा समक्ष गरेका छन् ।

बैठकमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, मुख्यमन्त्री लामा, मन्त्रीहरू, १३ जिल्लाका जिल्ला सभापतिहरू, कांग्रेसका बागमती प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियोे ।

Published : Wednesday, 2025 May 28, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया