भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशसभा सदस्य सिंहका स्वीकय सचिव पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी निर्वाचन क्षेत्र ४ (२) का प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वीकय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको छ ।

मंगलबार आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले विज्ञप्ति जारी गरेर सिंह समेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाइ आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी झिक्न लगाइ उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैङ्क दाखिला गर्न लगाएको बताएका छन् ।

६५ वर्षीय कायस्थलाई जेठ १२ गते अपरान्ह १ बजे धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिइ आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०८२।०२।१३  गते ।

प्रेस विज्ञप्ति

विषय:  नियन्त्रणमा लिइएको।

मिति 20८२।०२।१२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंबाट टुरमुकाम जिल्ला धनुषा, जनकपुरमा खटिई गएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरी गर्न लगाई साथै निजको निजी सचिव बिनोद कुमार लाल कायस्थसमेतको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी गराई भ्रष्टाचार जन्य कार्य गरेको भन्ने समेत व्यहोराको उजुरीको आधारमा जिल्ला महोत्तरी, जलेश्वर-१० हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ सरस्वती टोल बस्ने बिष्णु देव लालको नाती बली भद्र लालको छोरा महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) प्रदेश सभा सदस्य माननीय सरोज कुमार सिंहको स्वकीय सचिव बर्ष ६५ को बिनोद कुमार लाल कायस्थलाई मिति २०८२।०२।१२ गते अपरान्ह १:०० बजेको समयमा जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

साथै, निज मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहको साथमा रहेको निजले प्रयोग गरी आएको बिद्युतीय उपकरणसमेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

सहायक प्रवक्ता

देवी प्रसाद थपलिया 

Published : Tuesday, 2025 May 27, 3:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया