कुनै खरदार, सुब्बा संलग्न भएका ठाउँमा गृहमन्त्री नै संलग्न हो भनेर जबरजस्ती गर्न खोजियो : एमाले

काडमाडौं । एमालेका सांसद सूर्यबहादुर थापाले विमानस्थल अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको बताएका छन् ।

मंगलबार एफएमसँगको अन्तर्वार्तामा एमाले नेता थापाले भने, ‘भिजिट भिषा प्रकरणमा उहाँ (रमेश लेखक)ले आफ्नो स्पष्टीकरण दिनुभएको छ । सत्ता गठबन्धनका दुबै प्रमुख दलले त्यसका बारेमा तथ्यहरूको विश्लेषण गरेर आफ्नो पोजिशन लिएका छन् ।’

‘अहिले त्यस बारेमा छानविन गर्ने निकायले छानविन पनि गरिरहेका छन् । यो विषय पेचिलो बनेको छ,’ उनले भने, ‘रमेश लेखक नै यसमा मुख्य संलग्नकर्ता हो, संलग्न हुनुहुन्छ भन्ने ढंगले जसरी भन्न खोजिएको छ त्यो विषय तथ्यहरूले पुष्टि गर्दैन ।’

नेता थापाले भने, ‘कुनै खरदारको, कुनै सुब्बाको संलग्न भएका ठाउँमा पनि गृहमन्त्री नै संलग्न हो भनेर जोड जबरजस्ती गर्न खोजिएको छ, यो विषयमा सत्ता गठबन्धनका मुख्य दलले खास गरी एमालेले नेपाली कांग्रेसले गृहमन्त्री संलग्न हो भन्ने चाहिँ आधार, प्रमाण देखिएन भनेको हो ।’

‘यो राजनीतिक रुपमा सत्ता गठबन्धनमाथि हामला गर्ने हिसाबले गरिएको कोशिस हो,’, सांसद थापाले भने ।

एमालेका नेता थापाले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र गृहमन्त्री (रवि लामिछाने) राष्ट्रिय स्वतन्त्र पार्टीकै हुँदा स्वयम् गृहमन्त्री संलग्न भएका सहकारी ठगीका प्रकरणमा तीन महिनासम्म उहाँहरूले के गर्नुभएको थियो ? राजीनामा दिनुभएको थियो ? राजीनामा दिएर स्वतन्त्र छानविन गराउनुभएको थियो ? जबकि त्यो विषय गृहमन्त्री हुँदाको विषय थिएन ।’

‘त्यो पार्टी बनाउनुभन्दा अगाडिको विषय थियो । पुरानो विषयमा बचतकर्ताको बचत दुरुपयोगको विषयमा छानविन गर्नुपर्छ भन्दा उहाँहरूले छानविन गर्न मान्नु भएको थियो ? सर्प देखे दुला बाहिर हात, माछा देखे दुलाभित्र हात भने जस्तो यस्तो अवसरवादी कुरा गर्नु भएन । यस्तो स्वार्थी कुरा गर्न भएन,’ थापाले भने ।

‘विपक्षमा हुँदा विपक्षकै कुरा गर्नु हुन्छ प्रचण्डजी, रास्वपा वा जो जो संलग्न भएर एक ठाउँमा पोको पर्नु हुन्छ उहाँहरूले त्यो गर्नु हुन्छ,’ नेता थापाले भने, ‘त्यसमा ठूलो कुरा भएन । उहाँहरूले राजीनामाको माग पनि गर्न सक्नु हुन्छ । आफ्ना पोजिशन राख्न सक्नु हुन्छ । संसदीय राजनीतिमा यी कुरा हुन्छन् ।’

Published : Tuesday, 2025 May 27, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया