लेखकजी गृहमन्त्री बनेपछि भिजिट भिसामा सेटिङमा विदेश जानेको संख्या घटेको छ : एमाले नेता सूर्य थापा

काठमाडौं । एमालेका नेता एवम् सांसद सूर्यबहादुर थापाले गृहमन्त्री रमेश लेखक गृहमन्त्री बनेपछि भिजिट भिसामा बाहिर जानेको संख्या तुलनात्मक रुपमा भएको बताएका छन् ।

मंगलबार बिहान एफएम रेडियोसँगको अन्तर्वार्ताका क्रममा सांसद थापाले भने, ‘भिजिट भिसा प्रकरणमा तपाईलाई केही अगाडि लैजान चाहन्छु । सन् २०२२, २३, २४ र २५ को यो चार वर्षको भिजिट भिसामा बाहिर जाने महिला, पुरुष सिङ्गो संख्याको हिसाबले हेर्नु हुन्छ भने सबैभन्दा बढि २०२४ मा यो संख्या छ ।’

‘२ लाख ७६ हजारभन्दा बढि पुगेका छन् । अहिले मे २१ सम्म जम्मा ९६ हजार पुगेका छन् । बाहिर गएका छन्,’ उनले भने ।

एमालेका नेता थापाले भने, ‘सन् २०२२ देखि यो संख्या लाखौँको संख्यामा बाहिर गएका छन् । कसको सेटिङ थियो ? कसको साम्राज्य थियो ? कस्तो किसिमको चलखेल थियो ? कस्तो असुलउपर थियो । यी सबै कुराहरू छानविन हुनुपर्ने विषय छन् । छानविन गर्नुपर्छ । यो सेटिङ भत्काउनुपर्छ ।’

‘अध्यागमनको सेटिङमा यसको दुरुपयोग गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको सेटिङमा यो आजको विषय नभएर पुरोनो विषय रहेछ,’ थापाले भने, ‘चार वर्षका तथ्यहरू मैले तपाईको बीचमा राखे र रमेश लेखकजी गृहमन्त्री भइसकेको अवधिमा बरु तुलनात्मक रुपमा त्यो संख्या घटेको देखिन्छ ।’

‘यद्यपि यसमा के छ ? कसो छ ? छानविन गर्ने हो । यो अख्तियारले नै हेरिरहेको विषय भएको हुनाले अख्तियारलाई स्वतन्त्रतापूर्वक, विना दवाव, यसमा संलग्न को को हुन् ? शंकाको सूई होइन, तथ्यको सूई गृहमन्त्रीतिर लाग्छ कि लाग्दैन ? सोझिन्छ कि सोझिदैन ? यी सबै कुरामा अख्तियारलाई काम गर्न दिनुपर्छ,’ एमालेका नेता थापाले भनेका छन् ।

एमालेका नेता थापाले भनेको चार वर्षमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहेका थिए । उनीहरूको समयमा भिजिट भिसामा अबैध तरिकाले सेटिङमा धेरै मानिस बाहिर गएको तथ्याङ्कले देखाएको छ ।

Published : Tuesday, 2025 May 27, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया