नवनियुक्त अध्यक्ष बस्सेलद्वारा प्यूठान अस्पतालको पदभार ग्रहण

विमलप्रसाद पोख्रेल

बिजुवार । प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्णप्रसाद बस्सेल ‘रोयल’ले पदभार ग्रहण गरेका छन् ।

सोमबार अस्पतालमा कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष बस्सेलले रक्तदान गरेका छन् ।

प्यूठान नगरपालिकाका नगर उपप्रमुख देबेन्द्र बर्मा, झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, माण्डबी गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी, अस्पताल बिकास समितिका पूर्वअध्यक्ष समेत रहेका प्यूठान सुकुम्बासी आयोगका अध्यक्ष सुवास केसी, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

बस्सेललाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ओम अर्यालसहितका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले स्वागत गरेका छन् ।

अध्यक्ष बस्सेलले प्यूठान अस्पतालको सेवा, संरचना र व्यवस्थापन पक्षमा आमूल सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् । अलपत्र अवस्थामा रहेको अस्पतालको निर्माणाधीन भवन निर्माणमा पहल गर्ने र सरकारी तथा गैरसरकारी स्रोत साधन परिचालन गरी अस्पताललाई आधुनिक सेवा दिने संस्थामा रूपान्तरण गर्ने बताएका छन् ।

उनले भने, ‘म बच्चैदेखि डाक्टर बन्न चाहन्थें, कक्षा ८ मा जिल्लामा प्रथम भएँ । जीवनले मलाई राजनीतिमा ल्यायो । डाक्टर बन्न सकिनँ, आज डाक्टरहरूसँगै हातेमालो गर्दै जनताको सेवामा लाग्न पाउँदा गर्व लागेको छ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्यालले नयाँ नेतृत्वसँग सहकार्य गर्दै स्वास्थ्य सेवा गुणस्तरीय बनाउने बताएका छन् ।

Published : Monday, 2025 May 26, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया