लुम्बिनीका पर्यटनमन्त्री न्यौपानेद्वारा प्रहरी चेकिङहरू हटाउन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रदेशमा बाह्य पर्यटकको आगमन बढाउन प्रधानमन्त्री केपी ओलीसँग समन्वयका लागि आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा प्रधानमन्त्री ओलीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री र प्रदेशका पर्यटनमन्त्रीहरूबीच भएको राष्ट्रिय पर्यटन संवादमा मन्त्री न्यौपानेले बाह्य पर्यटकहरूको आगमनमा प्रहरीको अनावश्यक चेकिङ बाधा बनिरहेको बताए । आवश्यक्ताभन्दा धेरै स्थानमा प्रहरीको चेकजाँचले गर्दा बाह्य पर्यटकहरूलाई लुम्बिनीमा आउन असहज भैरहेको न्यौपानेले बताए । चेकिङको झन्झटलाई तत्काल अन्त्य गर्नुपर्ने उनले बताए ।

मन्त्री न्यौपानेले भने, ‘हाम्रो प्रदेशमा बाह्य पर्यटकहरु धेरै आउने भनेको भारतबाट हो,तर भारतबाट आउने पर्यटकहरूले अहिले धेरै असहज महशुस गरिरहेको अवस्था छ । प्रहरीबाट हुने अनावश्यक चेकिङले बाह्य पर्यटकहरूलाई सास्ती दिइरहेको अवस्था छ । यो सास्ती न्यूनीकरणका लागि संघीय सरकारबाटै पहल हुनुपर्छ ।’

भारतबाट लुम्बिनी प्रदेशमा घुम्न आउने पर्यटकहरूले हैरानी बेहोर्नु परेको र लुम्बिनीमा घुम्न नआउने भन्दै गुनासो बढ्न थालेको मन्त्री न्यौपानेले बताए ।

प्रदेश सरकारले अनावश्यक चेकिङ हटाउनका लागि पहेँलो स्टिकर छपाइ गरेको उनले बताए । भारतीय पर्यटकका गाडीहरूमा पहेँलो स्टिकर टाँस गर्न प्रदेश सरकारले नसकिरहेको मन्त्री न्यौपानेले बताएका छन् ।

लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयले भारतबाट आउने पर्यटकहरूको गाडीमा नाकामा चेकजाँच गर्ने र पहेँलो कार्ड टाँस गरिदिएपछि अन्य स्थानमा चेकजाँच गर्नु नपर्ने गरि पहेँलो कार्ड छपाइ गरेको थियो । मन्त्रालयले प्रहरीसंग समन्वय गर्न खोजेको तर, सम्भव नभएको प्रधानमन्त्री ओलीलाई मन्त्री न्यौपानेले जानकारी गराएका छन् ।

मन्त्री न्यौपानेले बाह्य पर्यटकहरूको आगमन बढाउनका लागि सडक पूर्वाधार महत्वपूर्ण रहेको बताएका छन् । सडक पूर्वाधारको अभावमा कैयन पर्यटकीय स्थलहरूमा पर्यटक पुग्न नसकिरहेको उनले बताए । न्यौपानेले पर्यटकहरूलाई आकर्षित गर्न पर्यटन क्षेत्रमा पूर्वाधार विकास पनि अपरिहार्य रहेको बताएका छन् ।

Published : Monday, 2025 May 26, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया