भिजिट भिसा सम्बन्धमा उत्पन्न गरिएको चिया कपको आँधी

काठमाडौं । भिजिट भिसाको माध्यमबाट मानव तस्करी/मानव बेचबिखन भएको भनिएको घटना सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट नियन्त्रणमा परेको भनिएका सहसचिव तीर्थ भट्टराईको बयान लगायतको कार्य सम्पन्न भइ सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवम् सहसचिव भट्टराई अनुसन्धानको क्रममा छन् । अख्तियारबाट अनुसन्धान र छानविनको क्रममा रहेको विषयमा अनर्गल प्रचार प्रसार गरेर अनुसन्धानमा प्रभाव पार्ने कार्य भइरहेका छन् ।

गृहमन्त्री लेखकले राजावादीहरूको अराजक आन्दोलनलाई रोकेका छन् । लेखकले गठबन्धन दलहरूलाई मिलाएर सरकार सञ्चालनमा सहजीकरण गरेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन मस्यौदा तयार गरी संसदमा दर्ता गराएका छन् । मुलुकभरि जातीय, पहिचानवादी एवं धार्मिक किसिमका द्वन्द्व न्यूनीकरण गरी सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न प्रमुख भूमिका निर्वाह गरेका छन् ।

यो अवस्थालाई मन नपराउने तत्वले जबरजस्त किसिमले अध्यागमनको विषयलाई उछालेको हो भन्ने बुझ्न कठीन छैन । गृहमन्त्री लेखकले गरेको सुधार र कामलाई सत्ताभन्दा बाहिर रहेका तथा गणतन्त्र विरोधी शक्तिलाई कदापि मन परेको छैन । सोही कारण लेखकलाई गृहमन्त्री पदबाट हटाएर प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली कांग्रेस र एमालेसहितका दलहरूको गठबन्धनको सरकारलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् ।

गृहमन्त्री लेखक स्वयमले ममाथि लागेको आरोप प्रमाणित गर पदबाट मात्रै होइन, राजनीतिबाट नै राजीनामा दिन्छु भनिसकेपछि पनि आन्तरिक एवं बाह्य राजनैतिक कारणले एकोहोरो लखेट्नु कतिको वाञ्छनीय होला ? प्रश्न उठेको छ ।

यसअघि गहमन्त्री लेखकले संसदमा उठाएको नैतिकताको प्रसङ्ग– त्यतिबेला पदासीन व्यक्तिमाथि नै प्रत्यक्ष आरोप लागेको थियो । तर, अहिलेको परिस्थिति बिलकुल फरक हो ।

यसपाला गृहमन्त्रीमाथि नै प्रत्यक्ष आरोप लागेको होइन । गृह मन्त्रालय मातहतका कर्मचारीमाथि शंका लागि अनुसन्धानको दायरामा ल्याएकै कारणले गृहमन्त्री लेखकमाथि सोझै आरोप लगाउनु राजनैतिक पूर्वाग्रहबाट प्रेरित भएर गरिएको कार्य हो ।

अनुसन्धान भइरहेको विषयमा प्रारम्भमै १०० कदम अघि बढेर विषय उछाल्नु कुन कोणबाट न्यायोचित हुन सक्छ ? जाँतोलाई भन्दा हातोलाई खसखस किन…?

पूर्वाग्रह र प्रतिशोधको शिकार बनाएर सम्भावना भएका नेतामाथिको आक्रमण पक्कै पनि दुराग्रहपूर्ण छ । पीपल पलाउने चट्टानको काप फोरेरै हो । लेखक बुझेका व्यक्ति हुन्, बुझाइराख्न आवश्यक नपर्ला ।

Published : Monday, 2025 May 26, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया