भट्टराईलाई अख्तियारले भन्दा अगाडि नै कारबाही गरेको गृहमन्त्रीद्वारा कांग्रेसमा बिफ्रिङ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईले अनियमितता गरेको सूचना पाएर मन्त्रालय तानेको बताएका छन् ।

सोमबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमामा लेखकले सहसचिव भट्टराईलाई मन्त्रालयमा तानेर आन्तरिक कारबाही गरिएको बताएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामार्ने सुइँको पाएर सहसचिव भट्टराईलाई मन्त्रालय तानिएको भन्ने भनाइमा सत्यता नभएको बताए ।

सहसचिव भट्टराई जानुअघि अध्यागमन कार्यालयमा रहेका व्यक्ति स्वयच्छाले सरुवा मागेको भन्दै लेखकले सहसचिव भट्टराईलाई पठाइएको बताए ।

लेखकले भने, ‘उनी हुनभन्दा अघिकाले आफैँले सरुवा मागेका हुन् । म यहाँ बस्दिनँ भनेर । त्यो भएपछि तीर्थ भट्टराई ल्याएँ ।’

‘मैले केही समयदेखि तीर्थ भट्टराईको बारेमा अलिकति यसले गडबड गर्दैछन् भन्ने सूचना पाएँ,’ गृहमन्त्री लेखकले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्न आउँदैछ भनेर हटाएको होइन ।’

विमानस्थल अध्यागमन प्रकरणमा गृहमन्त्री लेखकलाई जबरजस्ती मुछेर राजीनामा माग गर्ने जस्ता गतिविधि भएपछि कांग्रेसको बैठकमा गृहमन्त्री लेखकले सत्यतथ्य कुराको जानकारी गराएका छन् ।

Published : Monday, 2025 May 26, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया