गृहमन्त्री लेखकविरुद्ध आक्रमण बढेपछि कांग्रेस एकढिक्का, षड्यन्त्रकारीहरूको सामना गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग नेपाली कांग्रेसमा उठेको छ ।

सोमबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले पार्टीभित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका हुन् । नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताए ।

डा.कोइरालाले भने, ‘हामीले सभापतिलाई के भन्यौं भने, तपाईं अब उनीहरूलाई बोलाउनूस् । सोध्नूस्, के भएको हो ? निकास निकाल्नु पर्‍यो नि ।’

‘एक आपसमा मुठभेड गरेर कसलाई फाइदा हुन्छ ? स्पष्टीकरण माग्नूस् शेखर डा. साबसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग,’ डा.कोइरालाले भने ।

नेताहरूले उनीहरुसँग स्पष्टीकरण सोध्न माग गरेपछि सभापति शेरबहादुर देउवा हुन्छ हुन्न केही जवाफ नदिएको डा.कोइरालाले बताएका छन् ।

नेता शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने विवादास्पद अभिव्यक्ति दिएका छन् । शेखर कोइराला निकटका सांसदद्वय डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् ।

कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

बैठकमा गृहमन्त्री लेखकले समय लिएर भिजिट भिसा प्रकरण र आफूमाथि उठेका प्रश्नबारे सविस्तारमा जानकारी गराएका छन् ।

शेखर कोइरालासँग टेलिफोनमा भएको सम्वादबारे बैठकमा जानकारी गराउँदै गृहमन्त्री लेखकले भनेका छन्, ‘मैले शेखर दाइलाई फोन गरें । दाइ तपाईंले मलाई भन्नुपर्ने । मलाई फोन गरेर राजीनामा देऊ भनेको भए पनि हुने थियो । बाहिर गएर बोल्नुभयो । अरु बेला काम पर्दा फोन गर्ने तपाईंले यो विषयमा मलाई नै भनेको भए हुने थियो नि ।’

लेखकले बैठकमा भने, ‘म माथि छानबिन गरेको भए छानबिन चाँडो टुंगियोस् भन्नु । छानबिन नै म माथि ग¥या छैन । जो जसलाई छानबिन गरेको छ उसको बयान नै सुरु भएको छैन ।’

उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्रकै नेताहरूले गृहमन्त्रीको राजीनामा माग्नु गम्भीर विषय भएको बताएका छन् ।

खड्काले पार्टी बैठकमा आफ्ना कुरा नराख्ने बाहिर बाहिर बोल्ने प्रवृत्ति शेखरमा रहेको जनाएका छन् । उपसभापति खड्काले भने, ‘पार्टीको बैठकहरूमा कहिले पनि नआउने । खाली बाहिर मात्र बोल्ने । सभापतिले उहाँ (शेखर)लाई बोलाएर कुरा गर्नुपर्छ ।’

नेता विमलेन्द्र निधिले गृहमन्त्रीको राजीनामा माग्ने काम गम्भीर भएको बताएका छन् । निधिले भने, ‘यसरी कसरी पार्टीको पोजिसन बन्छ पार्टीमा छलफल गर्नुभन्दा पहिले विषय प्रस्तुत राखिदिएपछि ?’

गृहमन्त्री लेखकको राजीनामा माग गर्ने नेता शेखर कोइरालाको प्रवृत्तिको उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठलगायतका नेताहरूले बैठकमा आपत्ति जनाएको एक नेताले बताए ।

महामन्त्री गगन थापाले शेखर कोइराला र कृष्णप्रसाद सिटौलाको व्यक्तिगत बोलीका रूपमा लिँदा उपयुक्त हुने बताएका छन् ।

Published : Monday, 2025 May 26, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया