कांग्रेसद्वारा गृहमन्त्रीको बचाउ, षड्यन्त्रकारीहरूको राजीनामा माग खारेज

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ ।

सोमबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

प्रवक्ता डा.महतले गृहमन्त्री लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने जनाएको छ । प्रवक्ता डा.महतले भने, ‘उहाँ (केपी ओली)ले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिनुपर्ने छैन ।’

उनले आफूहरू समग्र संविधानको प्रतिरक्षामा रहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना विचार राख्न पाइने र त्यसलाई शान्तिपूर्ण तरिकाबाट गर्नु पर्ने प्रवक्ता डा.महतले बताएका छन् ।

राजावादीहरूले जेठ १५ गतेका लागि आह्वान गरेको आन्दोलनको सन्दर्भमा उनले संविधानविरुद्धका गतिविधिहरू कांग्रेसका लागि स्वीकार्य नहुने बताए ।

डा.महतले भने, ‘प्रधानमन्त्री एमाले पार्टीका नेता पनि हुनुहुन्छ । सबै उनले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन ।’

‘हामीलाई कब्जा सब्जामा ध्यान छैन । हामी समग्र संविधानको प्रतिरक्षाको पक्षमा छौँ,’ डा.महतले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुराहरू राख्न पाइन्छ । त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्दछ ।’

‘संविधानको खिलाफमै जान्छौँ भन्ने कुरा ठीक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ,’ प्रवक्ता डा.महतले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका थिए । ओलीले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए ।

Published : Monday, 2025 May 26, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया