प्रधानमन्त्रीसहित कांग्रेस-एमालेका शीर्ष नेताहरूबीच छलफल, गृहमन्त्रीबारे समान धारणा

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेट र सरकारका काम कारबाहीबारे छलफल भएको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूको उपस्थिति रहेको थियो । सुशासन र कानून कार्यान्वयनका लागि सरकार शून्य सहनशीलताको नीतिबाट पछि हट्न नहुने विषयमा छलफल भएको छ ।

भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

शीर्ष बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री लेखकमाथि भइरहेको आलोचना जायज नभएकोमा दुई दलका नेताले समान धारणा राखेका थिए ।

कांग्रेस र एमालेका शीर्ष नेताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री लेखकलाई भ्रष्टाचारसँग जोडेर अनावश्यक उछालेको निष्कर्ष निकालेका छन् ।

गृहमन्त्री लेखकमाथि लागेको आरोप मिथ्या भएको निष्कर्ष निकालेको एक नेताले बताए । एउटा कर्मचारीले बदमासी गर्दा विभागीय मन्त्रीले राजीनामा दिन नहुने निष्कर्ष कांग्रेस र एमालेको छ । गृहमन्त्री लेखकले १३ गते बोलाइएको प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने बताएका छन् ।

छलफलमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा, कृषिमन्त्री रामनाथ अधिकारीलगायतका नेताहरू सहभागी थिए ।

Published : Sunday, 2025 May 25, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया