प्रहरीको नाम विश्वभरि फैलाउने असई शेर्पालाई विशेष बढुवा

काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थालो प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा भएकी प्रहरी नायव निरीक्षक (सई) कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी प्रदान गरेका छन् ।

आइतबार प्रहरी हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रममा आईजीपी थापाले शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

आईजीपी थापाको अध्यक्षतामा जेठ ६ गते बसेको नीति निर्माण समिति (पीसीसी)को बैठकले प्रहरी सहायक निरीक्षक (असई) पदबाट शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) पदमा विशेष बढुवा गरेको थियो ।

शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । प्रहरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरेका छन् ।

पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने भन्दै थापाले आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न शेर्पालाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।

Published : Sunday, 2025 May 25, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया