भिजिट भिसा प्रकरणमा भट्टराईको बयान सुरु नहुँदै ५० लाखको अफवाह फैलाइयो, धमिलो पानीमा माछा मार्न मारामार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागममा पहिलो पटक स्थलगत निरीक्षणपछि कर्मचारीलाई निर्देशन गर्दै गृहमन्त्री रमेश लेखकले भनेका थिए– अध्यागमनको इमेज बाहिर राम्रो छैन, ख्याल गर्नुस् । कुनैखालको अवान्छनीय गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका लेखकलाई मन्त्रालय सम्हालेको दश महिनापछि नियोजित रुपमा षडयन्त्रमुलक ढंगले त्यही विमानस्थलमा लगेर राजनीति सक्काउने तत्व सक्रिय छ । लेखकको बदनामीको माहोल तताएर आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्नेदेखि गृहप्रशासनमा विचौलियाको काम गर्न छट्पटिएका तत्व लागि परेको छ ।

गत जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यामनका प्रमुख सहसचिव तीर्थराज भट्टराई सोधपुछका लागि बोलाउनुअघि गृहमा उनको गुनासो परेपछि भट्टराईलाई तत्काल गृह मन्त्रालय तानियो । कार्यालयका प्रमुखबाट तानेर मन्त्रालयमा भूमिका नदिनु पनि एकप्रकारको कारबाहीको सुरुवात हो । भट्टराईमाथि केरकारको सुरुवात नहुदै अख्तियारले नियन्त्रणमा लियो । भट्टराईसंगै मोवाइल र ल्यापटप लगायतका उपकरण बरामद गरेको अख्तियारले उनीमाथि सोधपुछ प्रारम्भ नहुँदै भिजिट भिसामा जानेहरूबाट दैनिक ५० लाख रकम संकलन हुने गरेको र गृह नेतृत्वसम्म पुग्ने गरेको अपवाहको भुस केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सल्काइयो ।


पाँच दिन बितिसक्दा पनि अझै भट्टराईमाथि अख्तियारले बयान सघन रुपमा सुरु गरेको छैन् । अर्कोतर्फ बरामद गरिएको उपकरण प्राविधिक जाँचको प्रक्रियामै छ । बयान र उपकरण प्राविधिक जाँचको नतिजा नआउदै नियोजित रुपमा रचिएको योजना गृहमन्त्री रमेश लेखकसम्म पुग्याे । ५० लाख दैनिक घुस संकलनको विषय गृह नेतृत्वमाथि जोडेर विभिन्न राजनीतिक दल, नीहित स्वार्थसिद्ध गर्न सक्रिय समूह र मन्त्रीको राजनीतिक करिअरमै धावा बोल्ने गिरोह सक्रिय रहेको तमाम प्रमाणहरू सर्वत्र भइसकेका छन् ।


मन्त्रालय प्रवेशसंगै गृहको नीतिगत र कानूनी सुधारलाई प्राथमिकतामा राखेर जिम्मेवारीमा वजनपूर्ण रुपमा गति लिएका मन्त्री लेखकले महत्वपुर्ण कानूनी सुधारका लागि विधयेकहरु प्रतिनिधिसभासम्म पुर्‍याउन सफल भए । प्रहरीमा प्रायः हुने गरेको सरुवा/वढुवामा प्रहरी इतिहासमै पहिलो पटक निश्पक्ष र भेदभावरहित ढंगबाट कार्यसम्पादन भयो ।


विगत पनि सालिन । कानूनाका ज्ञाता, सुझबुझपूर्ण नेताको परिचय बनाएका मन्त्री लेखकले गृह प्रशासन विवादरहित ढंगले हाकिरहेका बेला उनकै पार्टीभित्रका केही नेताहरूको जलन यो घटनासंगै सतहमा आएको छ । गृह प्रशासनको आन्तिरक सुधारका साथै मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न क्रियाशील मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री लेखकलाई दाग लगाउन विभिन्न षडयन्त्रहरू सक्रिय छन् ।

लेनदेनको विषयमा न कसैको बयान, न कुनै प्रमाण, नत संलग्नता नै । हचुवाका भरमा मिसनमा सक्रिय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अपवाह फैलाउनेहरूको नियत विस्तारतै सतहमा आउन थालेको छ । कांग्रेसका नेता कार्यकर्ता एवं आम नागरिक भ्रमित हुनुपर्ने अवस्था होइन ।


किन तारो बने लेखक ?


पार्टीभित्र वा बाहिर अब्बल राजनीतिज्ञको रुपमा स्थापित हुदै गएका नेता लेखकको सफलताको गतिमा पार्टीका भेगीय नेताको टाउको दुखाइँको विषय भएको लामो समय भइसक्यो । त्यो गुट पनि लेखकको बदनामीमै सक्रिय छ ।


पछिल्लो समय गृह प्रशासनको नेतृत्वमा रहँदा नयाँ दलका शीर्ष नेतृत्व कानूनी कठ्घरामा ल्याउनेदेखि, मुलुकको व्यवस्था विरोधी पक्षको गरेको हिंसात्मक आन्दोलनका आरोपित सयौंको संख्यामा नेतादेखि कार्यकर्ता पक्राउ गरि अनुसन्धानको दायरामा ल्याए । भने विगतमा लामो समय सत्तास्वादमा रमेको तेस्रो शक्ति प्रतिपक्षी दल हुदा दुई प्रमुख राजनीतिक दलको सूत्राधारका रुपमा क्रियाशील रहँदा नेता लेखक थप तारो बने । पार्टीभित्र उनले लिइरहेको उचाइप्रति ईश्र्या गर्ने समूह पनि अहिले लेखकको बदनामीमा पर्दापछाडिबाट पनि लागिरहेको छ । गृह नेतृत्वमा आउने कामप्रतिको असहमती वा चित्त दुखाई भन्दा पनि उनको राजनीति सक्काउने गिरोहले कुप्रचार गरिरहेको देखिन्छ ।


शेरादरबार काण्ड, सहकारी प्रकरण, सम्पति जफत र व्यवस्था विरोधी हिंसात्मक आन्दोलन विरुद्ध निर्मम देखिएका लेखकलाई तीनै प्रकरणमा संलग्न समुह, व्यक्ति र तिनीनिकट पार्टीका नेता तथा कार्यकर्ता अहिले लेखक विरुद्ध भ्रम छर्न दिनरात खटिएका छन् ।


चिप्लिए शेखर


पार्टीभित्र र मुलुकको माथिल्लो कार्यकारी भूमिकामा आउन सक्ने नेताका रुपमा हेरिएका कांग्रेस नेता शेखर कोइराला भने प्रायोजित समाचार र सामाजिक सञ्जालको अपवाहको भरमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दा नराम्ररी चिप्लिएका छन् । जेठ १० गते विराटनगर पुगेका नेता कोइरालाले सतही रुपमा पार्टीका जिम्मेवार नेता एवं गृहमन्त्री लेखकको राजीनामा मागेर उनले आफ्नो राजनीतिकस्तर देखाएका छन । जसका कारण उनीप्रति आक्रोश पार्टीवृतमा सुरु भएको छ ।


अर्का नेता कृष्ण सिटौलाले शेखरले राजीनामा दिनुपर्ने सुझाएको विराटनगर नै पुगेका बेला आइतबार गृहमन्त्री रमेश लेखकको राजीनामा आवश्यक नरहेको आसय व्यक्त गरे । उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए ।

नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्नेमा जोड दिए । अध्यागमनको भिजिट भिसा प्रकरणमा आफू संलग्न देखिएको प्रमाणि भए पदबाट मात्र नभई राजनीतिबाट टाढा रहने मन्त्री लेखकले उद्घोष गरिसकेका छन् । उनले घटनाको विस्तृत आगामी प्रतिनिधिसभामा प्रस्तुत गर्ने बताएका छन् ।

Published : Sunday, 2025 May 25, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया