एक कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग्नु गलत : कृष्णप्रसाद सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका छन् ।
आइतबार बिराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए ।
नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका कर्मचारीसँगै गृहमन्त्री लेखकको सचिवालय सदस्यको पनि नाम जोडिन पुगेलगत्तै विपक्षी दलका अतिरिक्त कांग्रेसभित्रैबाट पनि लेखकको राजीनामा माग्ने क्रम सुरु भएको थियो ।
शनिबार विराटनगरमा नै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
कांग्रेस नेता सिटौलाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन आवश्यक भएको बताएका छन् ।
सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने बताएका न् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको उनले बताए ।
नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएको भन्दै संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैंको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्ने सुझाव दिएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया