विद्यालयको संख्या धेरै, विद्यार्थी न्यून, मर्ज गरी गुणस्तरीय शिक्षा बनाऔँ : कांग्रेस सांसद खनाल

मसुरिया । लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रदेश सभा सदस्य (सांसद) एवम् पूर्वमन्त्री राजु खनालले विगतमा बजेट खर्च नभएर समस्या देखिएको भन्दै चिन्ता जनाएका छन् ।

शनिबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा खनालले भने, ‘प्रदेशमा बिगतमा हाम्रा केही समस्याहरू बजेटमा देखिएका छन् । खर्च नभएको समस्याहरू छन् । बजेट अपुगका कुरा छन् ।’

‘धेरै योजनाहरू भए । त्यसलाई कसरी सम्पन्न गर्ने भन्ने कुरा लुम्बिनी प्रदेश सरकारलाई बोझ भएको खालको अनुभूति सरकारले गरिरहेको छ,’ खनालले भने, ‘अन्य प्रदेशको तुलनामा यो प्रदेशले राम्रो रिजल्ट दिनुपर्छ ।’

प्रदेश सभा सदस्य खनालले भने, ‘अहिले भइरहेका विद्यालयहरूको स्तर अत्यन्त खस्कदो अवस्थामा गइरहेको सबैले अनुभूति गरेका छौँ । कयौँ विद्यालयहरूमा रिजल्ट शून्य प्रतिशतसम्मको आइरहेको अवस्थामा त्यहाँ भइरहेका पूर्वाधारहरू हामीले राम्रो बनाउन सकियो कि सकिएन ? विषयगत शिक्षकहरूको कयौँ ठाउँमा व्यवस्थापन गर्न सकिरहेका छैनौँ ।’

‘विद्यालयहरूको संख्या धेरै भएको छ । विद्यार्थीको संख्या अत्यन्त न्यून भएको छ,’, खनालले भने, ‘ती विद्यालयहरूलाई मर्ज गरेर सम्भावित भौगोलिक अवस्थाहरू हेरेर मर्ज गरेर भए पनि विषयगत शिक्षकहरूलाई व्यवस्थापन गर्न सकेर, त्यसमा आवश्यक पर्ने भौतिक पूर्वाधारहरूको विकास गरेर अगाडि जान सकियो भने बल्ल सामुदायिक शिक्षालाई गुणस्तरीय बनाएर अगाडि जान सक्छौँ ।’

खनालले भने, ‘अहिलेको समयसान्दर्भिक आईटी शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ ? त्यतातिरत कार्यक्रमहरू केन्द्रित हुनुपर्छ । परीक्षा दिएर बसेका विद्यार्थीलाई प्रशिक्षण दिएर पनि काममा अगाडि बढाउन सकियो भने सिक्दै कमाउदै पढ्दै भन्ने जुन कार्यक्रम छ त्यसलाई दीर्घकालीन रुपमा अगाडि बढाउन सार्थकता पाउन सक्छ ।’

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका खनालले भने, ‘स्वास्थ्यको क्षेत्रमा समस्याहरू छन् । स्वास्थ्य क्षेत्रमा बीमाको समस्याको कुरा आएको छ । केन्द्र सरकारसँग समन्वय गरेर स्वास्थ्य बीमाबारे अगाडि बढ्नुपर्छ ।’

‘प्रदेशभित्र रहेका १२ जिल्लाका प्रदेशस्तरीय अस्पतालहरूलाई ओएनएम सर्वे गरेर बिरामीको चाप के छ ? अहिलेको अवाश्यक्ता के छ ? कुन खालका बिरामीहरू त्यो अस्पतालमा आएका छन् ? प्राधिविधिक, डाक्टरहरूको अवस्था, भौतिक पूर्वाधारको अवस्था के छ ? त्यो सबैलाई अध्ययन गरेर ओएनएम सर्वे गरेर अगाडि जाने र सम्भाव भएका अस्पतालहरूलाई सय शय्यामा बृद्धि गरेर अगाडि जान सकियो भने राम्रो हुनेछ । बिरामीहरूको चाप बढेको छ,’ खनालले भने ।

Published : Sunday, 2025 May 25, 12:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया