विमानस्थल अध्यागमन घटनाबारे गृहमन्त्री लेखकले संसदबाट सत्यकुरा सर्वाजनिक गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले गृह मन्त्रालयमा हजारौँमा नभएर लाखौँका कर्मचारीहरू रहेको बताए । उनले भने, ‘गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौँलाख कर्मचारीमा संवैधानिक निकायले अनुसन्धान गर्न सक्छ । संवैधानिक निकायले कुनै बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ ।’
‘कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ?,’ गृहमन्त्री लेखकले भने ।
‘आजसम्म त्यस्तो भाको छ ? त्यस कारण मैले भनिसके मेराविरुद्ध राजनीतिक रुपले नियोजित रुपले षडयन्त्रमूलक ढङ्गले झुटा प्रचारबाजी भइरहेको छ,’ लेखकले भने ।
गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन अन्य राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफूले पदबाट मात्र नभई राजनीतिबाटै राजीनामा दिने बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु,’ उनले भने ।
लेखकले भने, ‘म सबैलाई आग्रह गर्दछु मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भइरहेको छ ।’
विमानस्थल अध्यागमनको घटनाका विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको गृहमन्त्री लेखकले बताएका छन् । उनले संसद बैठकमा अध्यागमन घटनाबाट सत्यतथ्य कुरा सार्वजनिक गर्ने सभामुखसँग समय माग गरेको बताए ।
यसअघि, शनिबार गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित÷प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको गृह मन्त्रालयले जनाएको छ ।
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विषयमा छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले आयोगबाट हुने छानविन र अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया