अध्यागमन घटनामा गृह मन्त्रालयले भन्यो– गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय नेतृत्वको संलग्नता छैन

काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यस प्रकारका कपोलकल्पित, भ्रम र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ ।’

‘यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दर्छौं,’ सहसचिव रिजालले भनेका छन् ।

‘मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ,’ सहसचिव रिजालले भने, ‘मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ ।’

‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ,’ विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयका सहसचिव रिजालले भने, ‘आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’

विमानस्थल अध्यागमनको घटनाका विषयमा विभिन्न घटनाहरूसँग गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकलाई जोडेर समाचार तथा टिकाटिप्पणी आएपछि विज्ञप्ति जारी गरेर गृह मन्त्रालयले आक्षेपहरूको खण्डन गरेको छ ।

Published : Saturday, 2025 May 24, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया