गृहमन्त्रीभन्दा पहिला पोखरा १० अर्ब घोटालाका नाइके संरक्षण गर्ने पर्यटनमन्त्रीलाई कारबाही गरौँ शेखर कोइरालाज्यू

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए ।

उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

कोइरालाले विगतमा केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र गृहमन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने बताए ।

गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सेटिङमा मानव तस्करी भइरहेको सूचना पाएपछि अध्यागमन कार्यालयका कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई कारबही स्वरुप जिम्मेवारी खोसेर गृह मन्त्रालय तानेका थिए । अध्यागमन कार्यालयको कार्यालय प्रमुखमा सहसचिव विष्णुप्रसाद कोइराला पठाएका थिए ।

सत्ताभन्दा बाहिर रहेका राजनीतिक दल, सहकारी ठग, सुन र मानव तस्करहरूले गृहमन्त्री लेखकलाई बदनाम गरेर राजीनामाको कुरा उठाएका छन् । अपुष्ट र हल्का कुराहरूको पछाडि लागेर शेखर कोइरालाले गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् ।

शेखर कोइरालाको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका बद्रीप्रसाद पाण्डेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको १० अर्ब घोटालाका नाइके नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संरक्षण गरेर राखेका छन् । पर्यटनमन्त्री पाण्डेले महानिर्देशक अधिकारीलाई निलम्बन गर्न सकेका छैनन् ।

अधिकारीलाई निलम्बनको प्रस्ताव मन्त्रिपरिषदमा लैजान आनाकानी गरिरहेका छन् । सार्वजनिक लेखा समितिले १० अर्ब घोटालाका नाइके महानिर्देशक अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेर पत्र पठाइसकेको छ ।

लेखा समितिले समेत भ्रष्टाचारको भएको भन्दै डामेर कारबाही सिफारिस गरेका व्यक्तिलाई संरक्षण गर्ने मन्त्री पाण्डेलाई राजीनामा दिन लगाउने की संरक्षण गर्ने भनेर शेखर कोइरालामाथि प्रश्न उठेको छ ।

पर्यटनमन्त्री पाण्डे आफू निकटका हुन् । गृहमन्त्री लेखक आफू निकटका होइनन् । शेखर कोइरालाले राजनीतिक प्रतिशोध साँध्न गृहमन्त्री लेखकको राजीनामा माग गर्नु विवादस्पद छ ।

Published : Saturday, 2025 May 24, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया