ठमेलको होटलमा ‘मुर्गा’ लगेर महिलाहरूद्वारा नग्न तस्बिर र भिडियो बनाए

काठमाडौं । हनी ट्रयापमा संलग्न रहेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेको विज्ञप्तिमा उल्लेख छ । महिलाहरूले पुरुषलाई ‘मुर्गा’ बनाइ होटलमा लगेर नग्न तस्बिर र भिडियो बनाइ ब्ल्याकमेलिङ गरेका थिए ।

ती दुई महिलाले आपराधिक लाभ लिने उद्देश्यले सामाजिक संजाल फेसबुकमार्फत कुराकानी गरी ठमेलस्थित एक होटलमा बोलाई खाजा तथा मादक पदार्थ सेवन गरी/गराई अचेत अवस्थामा पीडितको अश्लील फोटो तथा भिडियो बनाएको प्रहरीले जनाएको छ ।

ती दुई महिलाले पुरुषलाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ भनि विभिन्न किसिमका डर, धाक धम्कीहरू देखाएको अभियोग लागेको छ ।

महिलाहरूले रकम माग गरी ५ लाखको चेक काट्न बाध्य पारेको पनि प्रहरीले जनाएको छ । चेक लिई गएको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुई महिलाहरूलाई काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ५ लाखको चेक १ थान र मोबाइल २ थान समेत बरामद गरेको छ ।

उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Friday, 2025 May 23, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया