बर्दघाटको सामुदायिक अस्पतालमा मिर्गौलापीडितको डायलसिसका लागि महाअभियान सुरु

बर्दघाट । नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रमा मिर्गौलापीडित बिरामीहरूको उपचारका लागि ‘डायलसिस सेवा सञ्चालन महाअभियान’को सुरुवात भएको छ ।

शुक्रबार बर्दघाट नगरपालिकाको वडा नं. १४ चौपत्तास्थित अस्पताल प्राङ्गणमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण कलवारले महाअभियानको सुरुवात गरेका हुन् ।

मिर्गौलापीडित महाअभियान कार्यदलका उपसंयोजक शुक गुरुङका अनुसार मन्त्री कलवारले महाअभियानलाई लुम्बिनी प्रदेश सरकारका तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अस्पतालमा नेपाल सरकारबाट मिर्गौलापीडितले पाउने सेवा उपलब्ध गराइने गुरुङले बताए ।

‘एक घर, एक हजार’को उद्देश्यसहित महाअभियान सुरु भएको छ । पहिलो दिन २ लाखभन्दा धेरै रकम संकलन भएको मिर्गौलापीडित महाअभियान कार्यदलका उपसंयोजक गुरुङले बताए ।

कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै मिर्गौलापीडित महाअभियान कार्यदलका उपसंयोजक गुरुङले भने, ‘कुनै पनि स्वार्थ, आग्रह, पूर्वाग्रह नराखी राजनीतिक स्वार्थभन्दा एक कदममाथि उठेर मिर्गौलापीडितको उपचारमा काम गरौँ ।’

महाअभियानको मूल मर्म नै मिर्गौलापीडितको सेवा बाहेक अरु केही पनि नरहेको गुरुङले बताए ।

‘जुन मर्म र उदेश्यले अस्पताल स्थापना भयो आज अस्पतालमा राजनीतिले गर्दा गुणस्तरीय अवस्थामा आइपुग्यौं,’ उनले भने, ‘राजनीति गरेर स्थानीय जनताको स्वास्थ्यमाथि खेलबाड नगरौँ ।’

मिर्गौंलापीडितको हेमोडायलसिसका लागि महाअभियान सञ्चालन गर्दा विरोधका झिनो स्वरहरू आइरहेको भन्दै मिर्गौलापीडित महाअभियान कार्यदलका उपसंयोजक गुरुङले चिन्ता जनाएका छन् । उनले अस्पताल र मिर्गौलापीडितको उपचारमा राजनीति गर्न आवश्यक नरहेको बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको समन्वयमा अस्पताललाई डायलसिस गर्नका लागि उपकरणहरू प्राप्त भएका छन् ।

कार्यक्रममा मन्त्री कलवारका साथै जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव, बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, अस्पताल सञ्चालक समितिका अध्यक्ष दिलबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 May 23, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया