महेशजी नेतृत्वको एनआरएनए आधिकारिक, विदेशमा बसेर नकारात्मक नफैलाऔँ : परराष्ट्रमन्त्री डा.राणा

टोकियो । परराष्ट्रमन्त्री डा.आरजु राणाले महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई सहयोग गर्न अनुरोध गरेकी छिन् ।

बिहीबार जापानको राजधानी टोकियोमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा डा.राणाले न्यायालयको आदेशअनुसार एनआरएनएको महाधिवेशन गरेर महेश श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको बताइन् । उनले भनिन्, ‘सर्वोच्च अदालतले परमादेश दिएको आधारमा अस्ति एनआरएनएको इलेक्सन भएको हो । तपाईहरूले यसमा के ? कस्तो भएको हो भनेर नलाग्नुस् ।’

‘परराष्ट्र मन्त्रालय लगायत सबैको सहभागितामा इलेक्सन भएको हो । सर्वसम्मत रुपमा साथीहरू मिलेर महेश श्रेष्ठजी लगायत राम्रो कार्यसमिति आएको छ,’ डा.राणाले भनेकी छिन् ।

उनले भनिन्, ‘सबै एनआरएनएलाई के आग्रह गर्न चाहन्छु भने एउटै एनआरएनए हुन्छ । एउटाभन्दा धेरैलाई नेपाल सरकारले रिकक्नाइजेशन दिन सक्दैन । आधिकारिक एनआरएनए भनेको यहि हो । यसमा सबै सम्मिलित हुनुस् । यो त भोलेन्ट्री हो । भोलेन्ट्रीको काममा तपाईहरू किन लड्ने, बाझ्ने ? चिराचिरामा बाँडिने ? त्यसमा कुनै पनि फाइदा छैन ।’

डा.राणाले विदेशमा लाखौं नेपालीहरू रहेको भन्दै उनीहरूको हकहितका लागि परराष्ट्र मन्त्रालयले सह–सचिवको नेतृत्वमा महाशाखा स्थापना गरिएको बताइन् ।

उनले भनिन्, ‘एनआरएनएका लागि परराष्ट्र मन्त्रालयमा सह–सचिवको नेतृत्वमा महाशाखा खोलेका छौँ । महाशाखाले जति पनि विषय छ त्यसलाई हेर्नेछ । विदेशमा लाखौँ नेपालीहरू हुनुहुन्छ ।’

विदेशमा बसेर सामाजिक सञ्जालमा नेपाल र नेपालीहरूविरुद्ध हुने नकारात्मक प्रचारलाई रोक्न आग्रह गरेकी छिन् । उनले टिकटक लगायतका सामाजिक सञ्जालमा नकारात्मक कुराहरू तिब्र रुपमा फैलिने गरेको बताइन् ।

उनले भनिन्, ‘जसले नकारात्मक कुरा बोल्छ उसको टिकटकको भ्यू धेरै आउने रहेछ । कुनै पनि कुराको फ्याक्ट चेक नगरिकन सोसल मिडिया नचलाउनुस् ।’

‘साइबर स्पेसमा हाल्ने कुरा कहिल्यै पनि डिलिट हुँदैन । हाम्रो देशमा पनि साइबर सम्बन्धी कानून कडा हुन लागेको छ,’ डा.राणाले भनिन्, ‘नेपाली पासपोर्ट लिएर हिँड्ने, नेपाल सरकारले को मान्छे होला त्यसलाई डिपोर्ट गर भन्न सक्छ । त्यस्तो कानून आउन सक्छ । तपाईहरूलाई सरकारले निगरानीमा राख्न सक्छ ।’

‘सबै देशले यो गर्छ । नेपालले मात्रै होइन । नेपाल डिक्टेटरसिपतिर जान लागेको होइन । युएनको महासभामा डिजिटल कम्प्याक्ट भन्ने सबै देशले साइन गरेको छ,’ उनले भनिन् ।

‘नकारात्मक प्रचारले हाम्रो समाजलाई मात्रै होइन दुनियाँलाई प्रभाव पारेको छ । यसलाई कसरी नियमन गर्ने भन्ने कुराको सरकारलाई च्यालेञ्ज छ,’ डा.राणाले भनेकी छिन् ।

डा.राणाले भनेकी छिन्, ‘टिकटकलाई नेपालमा दर्ता गराएका छौं । नियमन भइरहेका छ । एक महिनाको रिपोर्ट हेरेको, एक महिनामा ६ सय ३ वटा टिकटक हटाइसकेको छ । अब कसले उजुरी गर्‍यो, हट्छ ।’

‘हामीले पनि फेसबुक, एक्स सबैलाई तिमीहरू नेपालमा आएर दर्ता गर । होइन भने तिमीहरूको सेवा बन्द गर्छौं भनिसकेका छौँ । नेपाल सरकार डिक्टेटर होइन,’ डा.राणाले भनेकी छिन् ।

‘नकारात्मक प्रभावले हाम्रो देशमा ठूलो समस्या बनाएको छ । त्यो भनेको सुसाइड । डिप्रेसन एण्ड सुसाइड,’ परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘१७ मानिसहरूले प्रत्येक वर्ष सुसाइड गर्दा रहेछन् । ३२ हजारले अट्यम्ड गर्छ । जस्तो किसिमले मलाई साइबर अट्याक गर्‍यो, बुलिङ गर्‍यो त्यस्तै मान्छे भएको भए झुण्डिएर मर्ने थियो । मलाई जस्तै अरु देशको महिला मन्त्रीलाई पनि भएको रहेछ ।’

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘समाजलाई नकारात्मक कुरा गर्ने काम नगर्नुस् । एउटा बक्सामा कुहिएको स्याउ भयो भने पूरै बक्सा कुहिन्छ ।’

डा.राणाले एनआरएनएको विधेयक आउन लागेको बताएकी छिन् । विधेयकमा रहने व्यवस्थाका विषयमा सुझाव मागिने उनले बताएकी छिन् ।

Published : Thursday, 2025 May 22, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया