सभापति देउवासँग राजसंस्थाबारे जोडेर प्रकाशित भ्रामक समाचारप्रति कांग्रेसद्वारा घोर आपत्ति प्रकट

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वर्द्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति श्री देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।’

‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो,’ कांग्रेसले भनेको छ ।

‘उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

‘नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहोर्‍याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा संचार माध्यममा सम्प्रेषण नगर्न संचारकर्मी मित्रहरूलाई आग्रह गर्दछ,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2025 May 22, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया