राष्ट्रपतिका स्वकीय सचिव कांग्रेसको केन्द्रीय सस्दस्यका उम्मेदवार, शीतल निवासमा बसेर राज्यशक्तिको दुरुपयोग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यसमितिका लागि सदस्य पदमा राष्ट्रपति रामचन्द्र पौडेलका स्वकीय सचिव सुशील तिमल्सेना उम्मेदवार बनेका छन् ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह र खुला मञ्चमा शुरु हुन लागेको मतदान र निर्वाचन प्रक्रियामा राष्ट्रपतिका स्वकीय सचिव तिमल्सेनाले मत मागेर प्रचार प्रसार गरिरहेका छन् । तनहुँ जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका तिमल्सेनाले गण्डकी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रपति पौडेलको स्वकीय सचिव रहेका तिमल्सेनाले सहसचिव सरहको सेवासुविधा लिने गरेका छन् । राष्ट्रपतिको स्वकीय सचिव हुँदाहुँदै तथाकथित विशेष महाधिवेशन पक्षधरले गरेको कांग्रेसको १५औँ महाधिवेशनमा तिमल्सेनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएपछि शीतल निवासमा बसेर राष्ट्रपति पौडेलले के के गतिविधि गरिरहेका छन् ? भन्ने कुराको पुष्टि भएको छ ।

तिमल्सेनालाई जिताउन शीतल निवासबाट प्राइभेट नम्बर (फोनको नम्बर नदेखिने)बाट महाधिवेशन प्रतिनिधि र नाम चलेका ठूला नेताहरूलाई फोन गरेर मतदान गर्न दवाव दिएको एक नेताले बताए । प्राइभेट नम्बरबाट धमाधम फोन आउन थालेपछि कांग्रेसको महाधिवेशनस्थलमा आतंक नै मच्चिएको छ ।

केन्द्रीय सदस्य पदका उम्मेदवार तिमल्सेनाले आफू राष्ट्रपति पौडेलको स्वकीय सचिव रहेको स्वीकार गरेका छन् । यदि उनी राष्ट्रपति पौडेलको स्वकीय सचिव छाडेर कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन् भने राजीनामा दिएको कुरा राष्ट्रपतिको कार्यालय वा राष्ट्रपतिको निजी सचिवालयले अहिलेसम्म प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छैन । यसअघि चिरञ्जीवी पौडेलले सचिवालय छाडेको विषयमा जानकारी दिइएको थियो ।

राष्ट्रपति पौडेलले शीतल निवासमा बसेर कांग्रेसलाई विभाजन गर्न र तथाकथित विशेष महाधिवेशनलाई सफल बनाउन राज्यशक्तिको साधन स्रोत दुरुपयोग गरेर गतिविधि गरेको आरोप लागेको छ । स्वकीय सचिव नै केन्द्रीय सदस्य पदको उम्मेदवार बनेपछि तिमल्सेनालाई राष्ट्रपति पौडेलको आधिकारिक उम्मेदवारका रुपमा कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले लिएका छन् । तथाकथित विशेष महाधिवेशनका बेला राष्ट्रपति पौडेलको प्रेस सल्लाहकार किरण पोखरेल, छोरी संज्ञा पोखरेल पौडेलसहितको सिङ्गो सचिवालयले नै जिल्ला जिल्लाहरूमा फोन गरेर तथाकथित विशेष महाधिवेशनमा भाग लिन दवाव दिएका थिए ।

राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल कास्कीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी थिइन् । उनी पनि केन्द्रीय सदस्यकी आकांक्षी थिइन् ।

Published : Friday, 2026 October 9, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया