परराष्ट्रमन्त्री डा.राणा र जापानका विदेशमन्त्री ताकेसीबीच भेट, नेपाल भ्रमणको निम्तो

टोकियो । परराष्ट्रमन्त्री डा.आरजु राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच भेटवार्ता भएको छ ।

जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्री ताकेसीबीच बिहीबार टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् । डा.राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

दुवै देशले आगामी वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७०औँ बार्षिकोत्सव मनाउँदै छन् ।

परराष्ट्रमन्त्री डा.राणाले आगामी वर्ष दुई देशको कुटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छिन् । डा.राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रकारुपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताएकी छिन् ।

लुम्बिनी लगायत नेपालको प्राकृतिक सांस्कृतिक अलौकिकताको अध्ययन एवं अवलोकनका लागि नेपालमा वर्षेनि हजारौँ जापानी पर्यटक आउने गरेको डा.राणाले बताएकी छिन् । उनले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यका बारेमा पनि कुराकानी भएको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालले यसै हप्ता आयोजना गरेको सगरमाथा संवादमा जापान सरकारका तर्फबाट उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताका लागि विशेष धन्यवाद पनि दिएकी छिन् ।

Published : Thursday, 2025 May 22, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया