राजावादीहरूद्वारा सहकार्यका लागि रास्वपासंग प्रस्तावसहित पत्राचार

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकार्यका लागि प्रस्तावसहित पत्र पठाएका छन् ।

संयोजक सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र पठाएर राजावादी आन्दोलनमा सहकार्य गर्न आग्रह गरेका हुन् ।

पत्रमा सुवेदीले रास्वपा पनि वर्तमान व्यवस्थासँग खुसी नभएको आफ्नो बुझाइ रहेको जनाएका छन् । पत्रमा लेखिएको छ, ‘तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ ।’

‘आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनर्स्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ,’ सुवेदीले भनेका छन्, ‘संवैधानिक राजसंस्था, सनातन हिन्दूराष्ट्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौँ ।’

जनआन्दोलन समितिले आउँदो जेठ १५ गते अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ । सुवेदीले त्यहीँबाटै सहकार्य सुरु गर्न प्रस्ताव पठाएका छन् ।

Published : Wednesday, 2025 May 21, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया