पोखरा विमानस्थलको १५ अर्ब घोटालाका नाइके बचाउन मिटरव्याजी चीनको ठेकेदारद्वारा विवादित विज्ञप्ति जारी

काठमाडौं । झण्डै १५ अर्ब घोटाला भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन गर्न संसदको सार्वजनिक लेखा समितिद्वारा गठन गरिएको उपसमितिद्वारा तयार पारिएको प्रतिवेदनलाई चिनियाँ सरकारी ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएएमसीई)ले गलत प्रतिवेदन भनेर नेपालको संसदमाथि प्रश्न उठाएको छ ।

मंगलबार पैसा तिरेर प्रेस विज्ञप्ति जारी गरेर सीएएमसीईले उपसमितिको प्रतिवेदनमा थुप्रै तथ्यात्मक त्रुटिहरू रहेको बताएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घोटालाको नाइकेका रुपमा उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही सिफारिस गरेको छ । अधिकारीसहितका अन्य कर्मचारीहरू पनि घोटालामा कारबाही सिफारिसमा छन् ।

पोखरा विमानस्थल बनाउने चीनले नेपाललाई मिटर व्याजमा ऋण दिएको छ । ऋण निकै महँगो छ । त्यसमा पनि महानिर्देशक अधिकारीसहितको समूहले झण्डै १५ अर्ब घोटाला गरेपछि पोखरा विमानस्थल चीनले कब्जा गर्ने अवस्थामा छ । घोटालामा संलग्नहरूलाई बचाउने गरेर चीनको ठेकेदार कम्पनीले मिनी संसदको उपसमितिको प्रतिवेदनमाथि प्रश्न उठाएर जथाभावी अभिव्यक्ति दिएपछि भ्रष्ट, दलालहरू कति बलियो छन् भन्ने कुराको पुष्टि गरेको छ ।

सीएएमसीईले ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना सम्बन्धी गलत प्रतिवेदनहरूको बारेमा’ भन्दै विज्ञप्ति प्रकाशन गरेको छ । सीएएमसीईले उपसमितिको प्रतिवेदनलाई चुनौती दिएको छ ।

सीएएमसीईले सरकारी निकायहरूलाई सार्वजनिक भइनसकेको प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न माग गर्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । यो घोटालामा सीएएमसीई पनि मुछिएको छ । सीएएमसीई बयान दिनबाट भागेको छ । अहिले आएर पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख समेत रहेका महानिर्देशक अधिकारीलाई बचाउने गरेर लेखा समितिको उपसमितिमाथि नै चीनको ठेकेदार कम्पनी सीएएमसीई प्रश्न उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देन संयोजक रहेको संसदीय उपसमितिले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भदेखि नै अनियमितता भएको ठहर गर्दै मूल समितिलाई वैशाख तेस्रो साता प्रतिवेदन बुझाएको छ ।

कम्तीमा १५ अर्ब भ्रष्टाचार भएको दाबी गरिएको छ । परियोजनाको प्रतिवेदन लेखा समितिले सार्वजनिक गरी नसकेको अवस्थामा चिनियाँ ठेकेदार कम्पनीले सञ्चारमाध्यममा सार्वजनिक प्रतिवेदनलाई अनधिकृत प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।

‘प्रतिवेदनमा हाम्रो कम्पनी सम्बन्धी उल्लेखित विषयवस्तुहरू पूर्णरूपमा तथ्यसँग मेल खाँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रतिवेदनलाई उदृत गरी प्रकाशित गरिएको परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ । जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र गम्भीर रूपमा चिन्ताजनक लागेको छ ।’

आफ्नो कम्पनीलाई व्यावसायिक र जिम्मेवार अन्तर्राष्ट्रिय इन्जिनियरिङ ठेकेदार कम्पनी रहेको जनाउँदै चाइना सीएएमसीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको बोलपत्र, सम्झौता र कार्यान्वयन चरणहरूमा नेपाल सरकारका सम्पूर्ण कानूनी र नियामक आवश्यकताहरू कडाइका साथ पालना गरेको दाबी गरेको छ ।

Published : Tuesday, 2025 May 20, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया