प्रा.डा.पौडेलविरुद्ध हल्लाको भरमा मुद्दामामिला गर्ने २ अधिवक्तालाई सर्वोच्चबाट झट्का

काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा.विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै पेस भएको रिटलाई दरपीठ गर्ने निर्णयलाई सदर गरेको छ ।

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सर्वोच्च प्रशासनले पौडेलविरूद्धको रिटलाई दरपीठ गर्ने निर्णयलाई नै सदर गरेको हो । सर्वोच्चको निर्णयसँगै प्रा.डा.पौडेललाई गभर्नर नियुक्तिमा बाटो खुलेको छ ।

योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी नै गभर्नर बन्न लागेको समाचारहरू आएपछि हल्लाको भरमा केही कानून व्यवसायीले सर्वोच्च अदालतमा रोक्न माग गरेर रिट दिएका थिए ।

त्यो रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेपछि कानून व्यवसायीहरू दरपीठ विरुद्ध सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । दरपीठ गर्ने प्रशासनको निर्णयलाई न्यायाधीश प्रधानको इजलासले सदर गर्ने निर्णय गरेपछि हल्ला र चर्चाको भरमा मुद्दामामिला गर्ने कानून व्यवसायीहरूलाई झट्का लागेको छ ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले प्रा.डा.पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा वैशाख ३० गते रिट पेस गरेका थिए । रिट सर्वोच्च अदालतले जेठ २ गते शुक्रबार दरपीठ गरेको थियो ।

शुक्रबार सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले अपरिपक्व भन्दै रिट दरपीठ गरेका थिए ।

Published : Tuesday, 2025 May 20, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया