कांग्रेसको कार्यक्रम बिथोल्न खोजेपछि मोहन बस्नेतद्वारा जबरजस्त प्रतिवाद, भुसुनाहरूलाई औकातमा बस्न चेतावनी

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले माओवादीका छाउराहरूलाई हैसियत र औकातमा बस्न चेतावनी दिएका छन् ।

सोमबार सिन्धुपाल्चोकको नेपाली कांग्रेस निगाले आयोजना गरेको नरगाउँ खानेपानी उद्घाटन तथा वृहत कार्यकर्ता भेला लिसंखुलाई सम्बोधन गर्दै बस्नेतले आफूले गरेको विकास निर्माणको उद्घाटन गर्दा अबरोधको प्रयास गर्ने माओवादीलाई औकातमा बस्न सचेत गराए । उनले भने, ‘यहाँको गाउँपालिकाको अध्यक्ष (राजु लामा, माओवादी) गौशालाको प्रहरी हिरासतमा रातारात उपियाँ र उडुसले टोक्ने बेला निकालिदिने मान्छे म हुँ । को थियो त्यो बेला ?’

‘यो उस (राजु लामा)को इच्छाले निकालेको होइन । यो यही माधव सोपकोटा भन्ने लाहुरेले अह्राएको हो,’ बस्नेतले भने, ‘यस्तै अह्राउँदै जान थाल्यो भने यसको हालत के हुन्छ ?’

नेता बस्नेतको कार्यक्रमलाई माओवादीले बिथोल्न विज्ञप्ति जारी गर्नुका साथै अराजक गतिविधि गरेका थिए । त्यसको कडा प्रतिवाद गर्दै नेता बस्नेतले माओवादीलाई अर्को चुनावमा सिन्धुपाल्चोकबाट सखाप पार्ने बताए । उनले माओवादीकै कारण बिगतमा मान्छेको हत्या भएको र सर्वसाधारणहरू विदेश जानु परेको बताए ।

नेता बस्नेतले भने, ‘मैले कहिँ नभेको कुरा गोप्य कुरा तपाईहरूलाई खोल्छु । तपाई कोही हेर्न चाहनु हुन्छ भने म देखाउँछु । मेरो खुट्टामा, मैतलामा दुई वटा रातो कोठी छन् । त्यो कोठी जुख ठाउँमा मैले खुट्टा टेक्छु । त्यो ठाउँ मेरो हुन्छ । मैले पहिलो पटक भनिरहेको छु आज ।’

‘सिन्धुपाल्चोक जिल्लामा कांग्रेसको जमानत जफत भएको यो क्षेत्रमा कांग्रेस जितेको छ,’ उनले भने, ‘आज ५४ वटा वडामा एक्लै कांग्रेस लड्दा ३२ वटा वडा कांग्रेसले जितेको छ । यहाँ पनि सबै कांग्रेसले हारेको हो । अब सुरुवात भएको छ ।’

‘अर्को पटकको निर्वाचनमा हेर्नु होला पिस्करमा जहाँ कम्युनिस्ट उम्रियो, सेतो च्याउ जस्तो । सिध्यो अहिले । एउटा वडा बाँकी छ । अर्को पटक साफ पार्छौं हामी । त्यो दाबी गर्छौं हामी,’ बस्नेतले भने ।

नेता बस्नेतले भने, ‘बलेफीमा ८ वटा वडा छ । माओवादीको जम्मा एउटा वडा छ । त्यो पनि कांग्रेसले लखेटेको छ । एमालेको एउटा छ ।’

उनले भने, ‘यो निर्वाचन क्षेत्र (सिन्धुपाल्चो क्षेत्र नं. १)मा तपाईहरू सुनेर राख्नुस् । उनीहरूलाई सोध्नुस् । ४ वटा पालिकामा माओवादीको एउटा भुसुनोले पनि चुनाव जितेको छैन । भोटेकोशी गाउँपालिकामा माओवादी निल । बाह्रबिसे नगरपालिकामा माओवादी निल । सुनकोशी गाउँपालिकामा माओवादी निल । त्रिपुरा सुन्दरी गाउँपालिकामा माओवादी निल । अर्को पटक निल हुने पालो निशंखुपाखर हो । बलेफीमा कांग्रेसले अलिक बिगारेको कारणले हो । उपाध्यक्षसहित ८ वडामा ६ वडा कांग्रेसले जितेको छ ।’

‘सुनकोशीमा बिचरा अध्यक्षलाई विज्ञप्ति निकाल्न लगाए छ । कार्यपालिकाबाट पास ग¥यो भने कहाँबाट पास गर्ने ? सक्छ ? उपाध्यक्षसहित कांग्रेसले जितेको छ,’, उनले भनेका छन् ।

‘मैले जहाँ जहाँ टेके यो जिल्लामा । टेकी रहेको छु त । एकैचोटी सबै नहोला त । पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दा धेरै वर्ष लाग्यो । सिन्धुपाल्चोक जिल्लामा कांग्रेसको हालीमुहाली भइसक्यो । एकलौटी भइसक्यो । वडा कांग्रेस । पालिकामा अत्याधिक बहुमत कांग्रेस । जिल्ला समन्वयमा एमाले र माओवादीको भुसुनै छैन । संघ र प्रदेशमा हामीले भनेर भएन । केन्द्रले टिकट मिलायो,’ नेता बस्नेतले भने ।

‘यी माओवादीहरू कहिले एमालेको बुइ चढेर चुनाव जितेको छ । कहिले कांग्रेसको बुइ चढेर चुनाव जितेको छ,’ बस्नेतले भने, ‘३२ वटा कांग्रेसले जितेको वडामा ५ वटा वडा माओवादी आएर के हुन्छ ? नेस्ट टाइम चुनाव सिङ्गल ह्याण्ड लडिन्छ । एक्लाएक्लै चुनाव लडिन्छ ।’

‘यिनीहरूको बुइ चढ्ने होइन कि अर्कै चिजले टेक्ने हो । कहाँबाट हुन्छन् यिनीहरू ? अलिकति रहेल पहेल भएर बसेका माओवादीका छाउराहरू आफ्नो भविष्य सोँच । बाउआमा पाल्नुपर्ला । घरपरिवार हेर्नुपर्ला । हिजो साराको लुटेर अंगभङ्ग गरेर जुनजुन पाप गरेको छ, हत्या गरेर पाप गरेको छ, यो पाप कटाउनु पर्ला,’ नेता बस्नेतले भने ।

माओवादीप्रति लक्षित गर्दै नेता बस्नेतले भने, ‘सके अलिक धर्म गर । नभए आफूमाथि कर्म गर । कांग्रेसलाई जिस्काउने कोशिष नगर । जिस्काउन थाल्यौँ भने ठाउँको ठाउँ ठीक गराइदिन्छौँ हामी ।’

‘यो जिल्लामा अलिक स्याइँस्याइँ गर्ने यहि शंखुपाखर हो । एउटा चौतारा छ स्याइँस्याइँ गर्ने । जुगलमा एउटा पनि वडामा वडाध्यक्ष माओवादीको छैन,’ उनले भने, ‘एउटा मान्छे कांग्रेसमा थियो । राप्रपाबाट आएको । आइहाल्यो भनेर टिकट दिएको । हामीलाई नसोधेर फेरि एमालेबाट लड्छु भनेर उता गए छ । यसलाई त स्वीकाउनु पर्‍यो भनेर हाम्रा साथीहरूले त्यो माओवादीलाई एक सिट अध्यक्ष दिएर उपाध्यक्ष लिएर त्यसलाई स्वीकाइदिएको हो । त्यस्तो स्वीकाउने फर्मुला पनि हामीसँग छ । कसलाई कुन बेला लगेर स्वीकाइदी हाल्ने ।’

पूर्वमन्त्री एवम् कांग्रेस नेता बस्नेतले भने, ‘काल नजिक आएपछि धेरै चुरीफुरी गर्ने बानी लाग्छ । बत्ती पनि बल्ने बेला धिपिक्क बल्छ । यिनीहरू त्यही भएका हुन् ।’

Published : Monday, 2025 May 19, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया