लम्जुङ तरुण अधिवेशन अवरोध गर्न हतियार प्रहार गर्ने समूहलाई कारबाही गर्न अध्यक्ष गुरुङको माग

बेसीशहर । नेपाल तरुण दल लम्जुङले ५औँ जिल्ला अधिवेशन उद्घाटन अवरोध गर्ने अपराधिक मनशाय राखेर हरिप्रसाद बरालको नेतृत्वमा आक्रमण गरेको भन्दै दोषीलाई कारबाहीको स्थानीय प्रशासनसँग माग गरेको छ ।

शनिबार बेसीशहरमा जेठ ३ गते तरुण दलको विधानअनुसार पूर्ण सदस्यता वितरण, नवीकरण गरी वडा र पालिका अधिवेशन सर्वसम्मत सम्पन्न भई बेसीशहर नगरपालिका वडा नं. ८ प्रगतिटोल आमा समूह भवनमा भएको अधिवेशन बिथोल्ने प्रयास गरेको तरुण दल लम्जुङका कार्यबाहक अध्यक्ष कुमरासी गुरुङ ‘भुपेश’द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरिप्रसाद बरालसहितका अराजक समूहको झुण्डले खुकुरी, रड लगायतका हातहतियारसहित तरुण दल लम्जुङको ५औँ अधिवेशन विथोल्न सांघातिक हमला भएको थियो । अधिवेशनमा सहभागी तरुणहरूले संयमता अपनाएपछि ठूलो क्षति हुन पाएन । यद्यपि, हरिप्रसाद बराल समूहको हातहतियार, रड लगायतका हतियार खोस्ने क्रममा केही तरुणहरू घाइते भएका थिए ।

‘उद्घाटन कार्यक्रम भइरहँदा दिनको ठीक २ बजेर ५ मिनेटको समयमा पाँचौ जिल्ला अधिवेशन अवरोध गर्ने अपराधिक मनशाय राखी हरिप्रसाद बरालको नेतृत्वमा खुशीजंग गुरुङ, सुदीप अधिकारी, सुमन बसौला, किशोरकुमार बस्नेत, विशाल अधिकारी र गर्जबहादुर गुरुङ लगायतका अराजक उच्छृङ्खल समूहबाट हुल–हुज्जत नारा जुलुस गर्दै खुकुरी रडजस्ता हातहतियारसहित उद्घाटन समारोहमा र अधिवेशन प्रतिनिधिहरूमाथि आक्रमण गरेकोप्रति घोर भर्त्सना गर्दछु,’ अध्यक्ष गुरुङले भनेका छन् ।

तरुण दलको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अराजक र उच्छृङ्खल गतिविधिप्रति नेपाल तरुण दलको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘उक्त घटनामा नेपाल तरुण दलको जिल्ला अधिवेशन सम्पन्न गर्न सहभागी दलका अधिवेशन प्रतिनिधिहरूले कार्यक्रमस्थलबाट अराजक र उच्छृङ्खल समूहलाई बाहिर निकाली अधिवेसन स्थल सुरक्षित गर्ने क्रममा खुकुरी र रडजस्ता हातहतियार खोसी थप ठूलो क्षति हुनबाट जोगाएको जानकारी गराउँदछु,’ अध्यक्ष गुरुङले भनेका छन् ।

‘यस जिल्ला अधिवेशन असफल पार्न गरिएको षड्यन्त्रकोे विरोधमा एकताबद्ध हुन सम्पूर्ण तरुण साथीहरूलाई अपील गर्दछु र यस पाँचौ जिल्ला अधिवेशनस्थलमा प्रतिनिधिहरूमाथि आक्रमण गर्ने अराजक समूहलाई तुरुन्त आवश्यक कानूनी कार्वाही गर्न स्थानीय प्रशासनसंग माग गर्दछु,’ अध्यक्ष गुरुङले विज्ञप्तिमा भनेका छन् ।

‘उक्त झडपमा घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण तरुणहरूलाई एकताबद्ध हुुन हार्दिक अनुरोध गर्दछु,’ अध्यक्ष गुरुङले भनेका छन् ।

नेपाल तरुण दल, लम्जुङको पाँचौँ जिल्ला अधिवेशन उद्घाटन समारोह नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय सभाका सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति डा.टकराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका सह–महामन्त्री एवं मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डे, पूर्व पार्टी सभापति एवं संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व पार्टी सभापति एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइराला लगायतको पनि उपस्थिति रहेको थियो ।

Published : Monday, 2025 May 19, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया