एमालेबाट निर्वाचित नगरप्रमुख चौधरीविरुद्ध भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा सफाइ पाएका प्रतिवादी त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सोमबार प्रतिवादी चौधरीसहित विरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको हो । नगरप्रमुख चौधरी एमालेबाट निर्वाचित भएका थिए । चौधरीलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ भएपछि अख्तियारले दण्ड सजाय गराउन सर्वोच्च पुगेको छ ।

‘प्रतिवादी बलदेव चौधरीसमेतरहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाईचित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ,’ आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।

प्रवक्ता पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेब चौधरी समेतका प्रतिवादी उपर आ.ब. २०७८÷०७९ मा त्रियुगा नगरपालिका अन्तर्गतको बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री ठेक्का सम्झौता गर्दा तोकिएको परिमाण ८८२८७ घ.मि. मा रु.६२,९१,२०४.२२ कम मूल्य कायम गरेको र सम्झौता नै नगरिएको १२६३७ घन मिटर माटो गैरकानूनी उत्खनन् र बिक्रीबाट रु.१८,४४,१७७.९४ गरी जम्मारु.८१,३५,३८२.१६ राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) को कसुरमा बिगो रु.८१,३५,३८२.१६ कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम सो ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए÷गरेको राजस्व रकमको दोब्बर रकम जरिबाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१–०१–१० को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२–०२–०५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।’

Published : Monday, 2025 May 19, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया