असई शेर्पाद्वारा सगरमाथाको आरोहरण, आईजीपी थापाले दिए बधाई

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

२०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसाविरूद्धको नाराको ब्यानर फहराउन सफल भएकी छिन् ।

सगरमाथाको सफल आरोहरण गरेको भन्दै असई शेर्पालाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बधाई दिएका छन् ।

थापाबाट २०८१ चैत २५ गते आवश्यक निर्देशन तथा शुभकामनासहित झण्डा हस्तान्तरण असई शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए ।

वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

Published : Monday, 2025 May 19, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया