परराष्ट्रमन्त्री डा.राणासँग युरोपियन युनियन आबद्ध राजदूतहरूद्वारा संयुक्त भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका राजदूतहरूले संयुक्त रुपमा भेट गरेका छन् ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग नेपालस्थित २० देशका राजदूतहरू, नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले भेट गरेका हुन् । नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरूको सम्बन्धका विविध विषयहरूका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको डा.राणाको निजी सचिवालले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा युरोपियन युनियन र यसमा आबद्ध राष्ट्रहरूले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद दिएकी छिन् । उनले नेपाल सरकारले सगरमाथा संवादमा युरोपियन युनियनका सदस्य राष्ट्रहरूका तर्फबाट भएको सहभागिताका लागि पनि धन्यवाद दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल जलवायु परिवर्तनको असरबाट अकल्पनीय रुपमा पीडित भइरहेको र नेपालले अन्तर्राष्ट्रिय रुपमा जलवायु न्याय माग गरिरहेकाले नेपालको यस अभियानमा साथ र सहयोगका लागि युरोपियन युनियनका सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी छिन् ।

डा.राणाले युरोपियन युनियनका सदस्य राष्ट्रहरूसँग नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि आफ्ना देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि पनि आग्रह गरेकी छिन् ।

नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेकामा नेपाललाई त्यसपछिको आवश्यक सहयोगका लागि पनि परराष्ट्रमन्त्री डा.राणाले युरोपियन युनियन आबद्ध राजदूतहरुमार्फत् युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी छिन् ।

Published : Monday, 2025 May 19, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया