लुभुमा ४ रोपनी जग्गामा महिलाहरू तस्करीको फ्याक्ट्री, सभापति खतिवडाद्वारा कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ललितपुरको लुभुमा मानव तस्करीका लागि जग्गा लिएर तालिमको गराइरहेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

सोमबार बसेको संसद बैठकमा बोल्दै खतिवडाले साउदी अरब लगायतका गाडी मुलुकमा महिला कामदार पठाउन तालिम गराइरहेको बताए । उनले भिजिट भिषामा महिला र मानव तस्करी भइरहेको भन्दै चिन्ता जनाएका छन् ।

सांसद खतिवडाले भिजिट भिषामा विदेशमा मानव तस्करी भइरहेको भन्दै रोकथामको माग पनि गरेका छन् ।

सांसद खतिवडाले भने, ‘भिजिट भिषाबाट अहिले धेरै महिला दिदी बहिनीहरू दुबई हुँदै कुवेत, साउदी अरेविया पुगेका छन् । यही समयमा श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुभुमा ४ रोपनी जग्गा लिएर महिला कामदारलाई हाउस मेडको रुपमा बाहिर पठाउनको लागि ठूलो रकम लिएको र तालिम दिने काम गरेको सुन्नमा आएको छ । कानून नबनाइ यस्ता काम नगरियोस् ।’

यसैबीच, सांसद खतिवडाले अबैध २५ करोडको मूल मालिक पक्राउ गर्न माग गरेका छन् ।

सांसद खतिवडाले ड्राइभर र भरियालाई मात्रै समातेर थुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताए । उनले तस्करका मूल व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग गरे ।

उनले भने, ‘केही महिना पहिला सरकारले काठमाडौंको टोखाबाट २५ करोड बराबरको अबैध रकम समात्ने काम ग¥यो । डलर, युरो लगायत । एउटा ड्राइभर र व्यापारी को हो पक्रियो थुनियो ।’

‘मूल त्यसको संरक्षण कसले गर्‍यो गरेको छ र धनी को हो भनेर अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन,’ उनले भने, ‘सधैँ ड्राइभर र लोडरलाई थुन्ने धनी पत्ता नलगाउने, त्यसको कनेक्सन कहाँ कहाँ छ ? र को को संलग्न छन् ? सदनलाई जानकारी गराओस् ।’

Published : Monday, 2025 May 19, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया