झण्डै २३ अर्ब भ्रष्टाचारको छानविन गर्ने उपसमितिको संयोजकमा मञ्ज खाण चयन

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद मञ्जु खाण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित सार्वजनिक लेखा समितिको उपसमितिको संयोजक बनेकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको उपसमितिको बैठकले मञ्जुलाई संयोजक बनाउने निर्णय भएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् ।

उपसमितिमा एमालेका योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसका श्यामकुमार घिमिरे र मञ्जु खाण, रास्वपाका मनीष झा, राप्रपाका विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

उपसमितिको संयोजक रहेका एमालेका सांसद तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थिए । भट्टराईमाथि प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।

भट्टराईको उपसिमितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो ।

सार्वजनिक लेखा समितिले २७ जेठ २०८१ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्न भएका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेको भन्दै स्थलगत अध्ययन तथा अनुगमन गर्न उपसमिति गठन गरेको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपियाँ मुआब्जा वितरण गरिएको थियो । गौतम बुद्ध विमानस्थल निर्माणको लगानी सुरुमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड पुगेको थियो । यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको भनी मुख्य प्रश्न उठेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख तत्कालीन समयमा प्रदीप अधिकारी थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक अधिकारी नै छन् । अधिकारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला र भ्रष्टाचार प्रकरणमा सार्वजनिक लेखा समितिको उपसमितिले पहिलो नम्बरमा कारबाहीको सिफारिस गरेको छ ।

Published : Sunday, 2025 May 18, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया