जसपाका पूर्वमन्त्री, माओवादीका पूर्व नगरप्रमुख र उप-प्रमुखविरुद्ध ५७ करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध अभियोग पत्र दायर गरेको छ ।

आइतबार अख्तियारले विशेष अदालत, काठमाडौंमा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारसहितका ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको विज्ञप्तिमा उल्लेख छ । आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

नगरप्रमुख भरत थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् । नगरप्रमुख र उप–प्रमुख नेकपा (माओवादी केन्द्र)का हुन् । पूर्वअर्थमन्त्री विजय कुमार जनता समाजवादी पार्टी नेपाल (जसपा)का हुन् ।

सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानूनी रुपमा उत्खनन् गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारले अभियोग लगाएको छ ।

संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानूनी तवरमा पोखरी समेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानिनोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ ।

५६ करोड ७१ लाख ७ हजार २९२ रुपियाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार तत्कालीन मन्त्री विजय कुमारसहित अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन कानून अधिकृत गोकुल भुजेलविरुद्ध २९ करोड ९९ लाख ८६ हजार १३५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मधेश प्रदेश सरकारबाट पटक–पटक सरकारी अनुदान रकम प्राप्त भएको अवस्थामा माछाविहीन माछापोखरी निर्माण कार्य पूरा नभएको भनी थप रकम माग गरेको र तेस्रो चरणको रकम उपलब्ध गराउने कार्यमा तत्कालीन मन्त्री विजय कुमारले २०७८ असार ६ मा निर्णय गरी अनुदान उपलब्ध गराउन एमओयुमा आफैंले एकल रूपमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसँग मर्यादालाई ख्याल नगरी हस्ताक्षर गरे गराएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध ५६ करोड ७१ लाख सात हजार २९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन इन्जिनियर निरन्जन लामिछानेविरुद्ध दस करोड १४ लाख ९५ हजार, तत्कालीन इन्जिनियर सागर पौडेलविरुद्ध ४६ करोड ५६ लाख १२ हजार २९२ रुपियाँ र तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध ५६ करोड तीन लाख ३४ हजार ४०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८२।०२।०४ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला सर्लाही, बागमती नगरपालिका वडा नं. ४ र १२ मा बागमती नगरपालिका, सर्लाहीले सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी वन क्षेत्रबाट ढुंगा, गिटी, बालुवा, माटो आदी वन पैदाबार गैह्रकानूनी रुपमा उत्खनन् गरी परेको खाल्डोमा माछापोखरी निर्माणको नाममा संघीय सरकार, प्रदेश सरकार समेतको करोडौँ रकमबाट गैरकानूनी तवरमा पोखरी समेतका संरचनाहरु निर्माण गरी गरार्इ सरकारी सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सर्लाही, बागमती नगरपालिका वडा नं. ४ र १२ मा बागमती नगरपालिका, सर्लाहीले नेपाल सरकारद्बारा जारी भएको वन पैदावार विकास समिति (गठन) आदेश, २०३३ बमोजिम गठन भएको वन पैदावार विकास समिति (गठन) (छैटौं संशोधन) आदेश, २०69 समेतबाट सञ्चालित सागरनाथ वन विकास परियोजना सर्लाहीलाई वन क्षेत्रहरु संरक्षण तथा व्यवस्थापनका लागि हस्तान्तरण भई परियोजनाले संरक्षण एवं व्यवस्थापन गर्दै आईरहेको सागरनाथ वन विकास परियोजना अन्तर्गतको मुर्तिया वन क्षेत्रमा अतिक्रमण गरी वन क्षेत्रबाट ढुंगा, गिटी, बालुवा, माटो आदी वनपैदाबार गैह्रकानूनी रुपमा उत्खनन् गरी परेको खाल्डोमा माछापोखरी निर्माणको नाममा संघीय सरकार, प्रदेश सरकार समेतको करोडौँ रकमबाट गैरकानूनी तवरमा पोखरी समेतका संरचनाहरु निर्माण गरे गराएको देखिएको,
नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृति विना वन क्षेत्रमा विकासका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न मिल्दैन। राज्यका अन्य कुनै निकाय वा कार्यालय वा संस्थाले राष्ट्रिय वन क्षेत्रमा कुनै सामाजिक वा भौतिक पूर्वाधार निर्माण गर्ने सम्बन्धी कार्य गरे गराएमा त्यस्ता कार्य वन ऐन अनुसारको कसूर मानिने गरी कानूनी तवरमा प्रतिवन्ध लगाएको व्यवस्थालाई जानीबुझी अनदेखा गरी बद्‍नियतपूर्ण तवरमा सो जग्गा नदी उकासको भनी झुट्टा तथा गलत व्यहोराको लिखत तयार गरी गराई, सागरनाथ वन विकास परियोजना, सर्लाहीले पटक पटक पत्राचार गरी उक्त कार्य नगर्न सचेत गराउँदा गराउँदै पनि उक्त पत्रलाई नजरअन्दाज गरी गराई जबरजस्ती रुपमा बागमती नगरपालिका सर्लाहीले राष्ट्रिय वन क्षेत्रमा अधिकार प्राप्त अधिकारी/निकाय/कार्यालयको अनुमति नलिई बद्‍नियत राखी प्रचलित कानून बमोजिम अनिवार्य रुपमा गर्नुपर्ने वातावरणीय अध्ययनको प्रतिवेदन स्वीकृत नगरी नगराई, निर्माण स्थलको व्यवस्था नभई, खरिद कार्यको लागि आवश्यक पर्ने बजेटको श्रोत सुनिस्श्चितता नगरी नगराई, खरिदको गुरु योजना तथा वार्षिक खरिद योजना स्वीकृत नगरी नगराई, माछापालन सम्बन्धी कुनै अध्ययन नगरी नगराई, बागमती नदीको पानीको प्रयोगको लागि कुनै स्वीकृत नलिई हचुवामा निर्माण कार्य गरी गराई राज्यका विभिन्न निकायबाट कानून विपरित अनुदान रकम प्राप्त गरी सो रकमको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको देखिएको।
यसैगरी मधेश प्रदेश सरकारबाट पटक-पटक सरकारी अनुदान रकम प्राप्त भएको अवस्थामा माछा बिहिन माछापोखरी निर्माण कार्य पुरा नभएको भनी थप रकम माग गरेको र तेस्रो चरणको रकम उपलब्ध गराउने कार्यमा मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री बिजय कुमारले मिति २०७८।०३।०६ मा निर्णय गरी अनुदान उपलब्ध गराउन MOU मा आफैले एकल रुपमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत (रा.प्र. तृतीय श्रेणी) सँग मर्यादालाई ख्याल नगरी हस्ताक्षर गरे गराएको तथा कानून अधिकृतको राय बमोजिम भनी मधेस मन्त्रिपरिषदमा पेश नगरी रु. ३० करोड अनुदान दिने निर्णय गरेको देखिएको।
प्रतिवादीहरुले माछापोखरी निर्माणको नाममा पोखरी समेतका गैरकानूनी संरचनाहरु निर्माण गरी साविक वन ऐन, 2049 एवं प्रचलित वन ऐन, 2076 बमोजिम कसूर गरेकोले वन क्षेत्रमा निर्माण गरिएका सबै संरचनाहरु कानुन अनुसार जफत भई जे जुन प्रयोजनको लागि निर्माण गरिएको हो उक्त प्रयोजन वमोजिम प्रयोग प्रचलनमा आउन सक्ने अवस्था नरहेको हुँदा यसमा भएको सरकारी लगानीको प्रतिफल शून्य हुने देखिँदा प्रतिवादीहरुले आर्थिक वर्ष 2075।76 देखि 2079।80 सम्म मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका पदाधिकारी/कर्मचारीसँग मिलोमतोमा प्रदेश विनियोजन ऐन र प्रदेश मन्त्रीपरिषद्को निर्णय विपरित विशेष/सशर्त अनुदान प्राप्त गरी बागमती नगरपालिका सर्लाहीको आन्तरिक श्रोत र संघीय सरकार समेतको गरी जम्मा रु. 56,71,07,292।– हानिनोक्सानी/दुरुपयोग गरे गराएको तथ्य स्थापित भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 तथा भ्रष्टाचार निवारण ऐन, 2059 को (पहिलो संशोधन) ऐन, 2081 को दफा 17 बमोजिमको कसूर भएको हुँदा देहाय बमोजिमका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

देहाय:
सि.नं. नामथर, पद र कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी

  1. मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री
    विजय कुमार रु.29,99,86,135।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे बमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन साथै, निज मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) मन्त्री रहेको र निजले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद-2 (भ्रष्टाचार कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप सजाय हुन मागदाबी लिईएको छ।
  2. बागमती नगरपालिका सर्लाहीका तत्कालीन नगर प्रमुख (हाल निलम्बित)
    भरत कुमार थापा रु. 56,71,07,292।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन साथै, निज प्रतिवादी बागमती नगरपालिका सर्लाही/सार्वजनिक संस्थाको प्रमुख एवं सो सरहका पदाधिकारी भएको र निजले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद-2 (भ्रष्टाचार कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी भरत कुमार थापालाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप सजाय हुन मागदाबी लिईएको।
  3. बागमती नगरपालिकासर्लाहीका तत्कालीन उपप्रमुख (हाल निलम्बित)
    लीला कुमारी मुक्तान रु. 56,71,07,292।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन मागदाबी लिइएको छ।
  4. बागमती नगरपालिका सर्लाहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल निलम्बित)
    बिमल कुमार पोखरेल रु. 56,71,07,292।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन मागदाबी लिइएको छ।
  5. मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन कानुन अधिकृत
    गोकुल भुजेल रु.29,99,86,135।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन मागदाबी लिइएको छ।
  6. बागमती नगरपालिकासर्लाहीका तत्कालीन ईन्जिनियर
    निरन्जन लामीछाने रु.10,14,95,000।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन मागदाबी लिइएको छ।
  7. बागमती नगरपालिकासर्लाहीका तत्कालीन ईन्जिनियर (हाल निलम्बित)
    सागर पौडेल रु.46,56,12,292।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन मागदाबी लिइएको छ।
  8. बागमती नगरपालिका सर्लाहीका तत्कालीन लेखा अधिकृत (हाल निलम्बित)
    विश्वराज पोखरेल रु. 56,03,34,404।- भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 वमोजिमको कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरे वमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059(पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (ज) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (१) वमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुन मागदाबी लिइएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

Published : Sunday, 2025 May 18, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया