सभापति देउवालाई सुनाए कांग्रेसका सांसदहरूले गुनासा, आफ्ना नेता, कार्यकर्तालाई संरक्षण भएन

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको बताए ।
कांग्रेस सांसदहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताए । सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिए ।
गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको बताए ।
प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले सरकार परिवर्तनको कुनै सोँच र योजना कांग्रेसले नराखेको बताए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरू यथेष्ट सुनिएन कि भन्ने चिन्ता सांसदहरूको रहेको बताए । डा.महतले कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको बताए ।
डा.महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको बताए ।
बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् । निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन उनले आग्रह गरेका छन् ।
सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरूले आवाज उठाएको र सभापति देउवाले जवाफ दिएको बताए ।
घिमिरेले भने, ‘उहाँहरू (बस्नेत र राई)को कुरा पनि उठ्यो, उहाँहरूको विषयमा पनि सांसदहरुले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्युले जवाफ दिनुभयो ।’
देउवाको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक घिमिरेले भने, ‘राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो ।’
सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरू पनि जेल बसेर आएको पार्टीका सांसदहरूलाई स्मरण गराएका छन् ।
सांसद राईले आफूलाई पार्टीले संरक्षण नगरेको गुनासो गर्दै भावुक सम्बोधन गरेकी थिइन् ।
माओवादी केन्द्रसँगको गठबन्धन हुने कुनै सम्भावना नरहेको कांग्रेसले जनाएको छ । पत्रकारसँगको कुराकानीमा प्रमुख सचेतक घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना नभएको बताए ।
घिमिरेले भने, ‘माओवादीसँग गठबन्धन गरेर जाने भन्ने छैन । सरकार परिवर्तनको कुरौ सोच र योजना छैन ।’
‘गभर्नरको विषय पनि उठ्यो । बजेट कसरी वितरण हुन्छ । सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुरा पनि अयाो । सन्तुलित विकास हेरेर बजेट बन्नुपर्यो भन्ने आयो,’ उनले भने ।
प्रवक्ता डा.महतले उप–महासचिव जनार्दन शर्मा र सभापति देउवाबीच भएको भेटवार्तापनि संयोग भएको बताए । उनले भने, ‘जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन ।’
बैठकमा शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, शंकर भण्डारी, माया राई, मञ्जु खाण, हृदयराम थानी, कान्छाराम तामाङ, राजेन्द्र बजगाईंले धारणा राखेका थिए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया