ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति कोर्मोचाको निधन, खतिवडाद्वारा गहिरो शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्वसभापति महेशबहादुर कोर्मोचाको करीव ७४ वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेस नेता कोर्मोचाको शुक्रबार राति १०ः४६ बजे ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् । कोर्मोचाको निधनबाट ओखलढुङ्गा कांग्रेसलाई ठूलो क्षति भएको भन्दै खतिवडाले अभिभावक गुमाएको बताए । उनले कोर्मोचाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

कोर्मोचाको जन्म विक्रम संवत् २००८ असार १८ गते ओखलढुङ्गाको खिजी, चण्डेश्वरीमा भएको थियो ।

प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको हो । कोर्मोचाले ओखलढुङ्गा कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ ।

कांग्रेस नेता खतिवडाले भने, ‘ओखलढुङ्गा नेपाली कांग्रेसको नेतृत्व, प्रजातन्त्रिक आन्दोलनको मियो, असल सङ्गठन कर्ता, जनताका प्यारो नेता महेशकुमार कोर्मोचा अब हामीबीच रहनु भएन । स्वर्गीय नेता महेशकुमार कर्मोचा दाईप्रति हार्दिक श्रद्धाञ्जलि ।’

वीपी कोइरालासँग नजिक रहेर कोर्मोचाले कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिकामा रहेका थिए ।

दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति समेत रहेका कोर्मोचा वीपी कोइरालासँग जोडिने थोरैमध्येका नेता हुन् ।

उनी जिल्ला कार्य समिति नेपाली कांग्रेस ओखलढुङ्गा (२०२४–०३७) सदस्य, सशस्त्र आन्दोलन (२०३१)को कमाण्डर, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गा (२०३७–०३९) सचिव, नेपाली कांग्रेस ओखलढुङ्गा (२०३९–०४४)को प्रचार प्रसार समितिको सचिव, नेपाली कांग्रेस ओखलढुङ्गा (२०४४–०४९)को सचिव रहेर काम गरेका छन् ।

गाउँ विकास समिति खिजी (२०४३–०४६)को सदस्य, २०२७–०३३ सम्म दुई पटक र भारतमा समेत गरी दश पटक गिरफ्तारी उनले दिएका थिए । उनी २०३३–०३७ सम्म लगातार ५ वर्ष जेल जीवन बिताएका छन् ।

ब्रिटिश आर्मीमा सेवा (इ.सं. १९६०–१९६८) उनले सेवा गरेका छन् । नेशनल कलेज काठमाडौं (२०२७) उपसभापति (स्ववियु), नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गा (२०४९–०५२)को जिल्ला सदस्य, केन्द्रीय सदस्य, नेपाल मानव अधिकारी संगठन ओखलढुङ्गा, सभापति, जिल्ला विकास समिति ओखलढुङ्गा (२०४९–०५४), संरक्षक सदस्य, जेपी प्रतिष्ठान, (२०५१–०५४), सभापति, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गा (२०५३–०५६), संयोजक, संगठन उपसमिति नेपाली कांग्रेस (२०५३–०५६)को जिम्मेवारी कोर्मोचाले बहज गरेका थिए ।

Published : Saturday, 2025 May 17, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया