हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारीस्तरबाटै कुटनीतिक पहल गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका गुरुङ ‘टीका’को नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले हङकङ पनि एक आकर्षक गन्तव्य हुने बताए । उनले सरकारीस्तरबाटै कुटनीतिक पहल अघि बढाउने बताए ।

‘यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ, बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेर भन्दा पनि बेइजिङसँग पनि कुटनितिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ,’, उनले भने ।

यसअघि सन् २०२४ को जुलाईबाट हङकङले दक्ष कामदारलाई सीपमा आधारित भिसा खुला गरेको थियो ।

सचिव गुरुङले एनआरएन हङकङले पटक–पटक वर्किङ भिसा खुल्ला गर्नका लागि कुटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको बताइन् । उनले भनिन्, ‘हाल हङकङ हाल ३० हजारको हाराहारीमा नेपालीहरू छन्, हावापानीदेखि सुरक्षा र तलवको हिसाबले पनि नेपाली युवाहरूका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ भिसा खुलाउन तत्काल कुटनीतिक पहल गर्नुपर्छ ।’

हङकङमा घरेलु महिला कामदारको माग अत्याधिक रहेपनि भिसा नपाउँदा गैरकानूनी र अवैधानिक बाटोबाट महिलाहरू जने गरेको सचिव गुरुङले बताइन् ।

यसैबीच संघका सिइओ राजेन्द्रकुमार राउतले लामो समयदेखि रसियामा श्रम स्वीकृति बन्द रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न मन्त्री भण्डारीसँग आग्रह गरेका छन् ।

सिइओ राउतले मन्त्री भण्डारीसँग तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई श्रम स्वीकृति कार्यलाई तत्काल सुचारु गरिदिन आग्रह गरेका छन् ।

Published : Saturday, 2025 May 17, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया