संसदको जमानत जफत भयो : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा सांसदहरूको उपस्थिति न्यून रहेको भन्दै चिन्ता जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै खतिवडाले भने, ‘यो विनियोजन विधेयक प्रस्तुत गर्ने माननीय उपप्रधान एवम् अर्थमन्त्री पनि मैले संसदमा देखेको छैन ।’

उनले भने, ‘मेरा आँखा माथितिर हेर्दा पनि कर्मचारीहरू अर्थ मन्त्रालयका यदाकदा हुन्छन् भन्ने थियो । त्यो पनि एकजना माथि देखेको छैन ।’

‘मैले सांसदको संख्या गने । संसदमा उपस्थिति हेर्दा संसदको जमानत जफत भएको छ’, कांग्रेस सांसद खतिवडाले भने ।

‘जमानत जफत यो मानेमा कुनै पनि चुनावमा भाग लिन जाँदा भाग लियो भने खसेको मतको दश प्रतिशत मत ल्याएपछि जमान फिर्ता हुने गर्छ,’ खतिवडाले भने ।

‘सदनमा संख्या गन्दै छु । २५ देखि २६ जना माननीय सदस्य हुनुहुन्छ । २७ जना भएको भए २७५ को दश प्रतिशत पुग्ने थियो । दश प्रतिशत सदस्य नभएको बेला जमानत जफत भयो भन्दा कति उत्तम, अ–उत्तम हुन्छ त्यतातिर म धेरै प्रवेश गर्न चाहिन,’ उनले भने ।

‘जेष्ठ नागरिकको फुकलिएको दाँत जस्तो भएको छ संसद,’ खतिवडाले भने, ‘यताबाट हेर्दा एउटा, उताबाट हेर्दा एउटा, कहीँकहीँ मात्रै देखिने जेष्ठ नागरिकको दाँत जस्तो संसद भवनको गरिमाको कति महत्व बढ्छ ? त्यतातिर ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’

Published : Friday, 2025 May 16, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया