नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको वकालत गर्न निरन्तर अग्रपंक्तिमा छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ ।’

विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको डा.राणाले बताएकी छिन् ।

उनले सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको बताइन् । ‘सगरमाथा संवाद, वादे वादे जायते तत्वबोधः भन्ने आदर्श वाक्यबाट प्रेरित छ । यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदान मार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्दछ,’ उनले भनिन् ।

डा.राणाले संवादले प्रतिबिम्ब र आत्मनिरीक्षणको लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।

जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै डा.राणाले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्ने बताइन् ।

नेपालले भने यसको संकट सबैभन्दा बढी मात्रामा झेल्नुपरिरहेको उनले बताइन् । डा.राणाले भनिन्, ‘हाम्रा नदी, वन र पहाडहरूको संरक्षकको रूपमा हामी कार्यरत छौँ । तर, पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न हामी बाध्य भएका छौं ।’

‘तीन दिनमा हामीले आफैंलाई जलवायु संकटको अस्तित्वगत खतरालाई कसरी सम्बोधन गर्ने, यस पृथ्वी र ब्राह्मणको स्वास्थ्य अवस्थाको पुनस्र्थापित गर्ने र यसमा बस्ने मानिसहरूको कल्याण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सोध्नेछौँ,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरू भोगिरहेको बताइन् । उनले बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति बनाएको बताएकी छिन् ।

उनले भनिन्, ‘पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने सोंचले सबैले पृथ्वी र प्रकृतिलाई माया गर्ने र कुनै क्षति नपुर्‍याउने गरी काम गर्न सकिएमा सबैको भलो हुने र जलवायु परिवर्तनको प्रभाव पनि कम हुनेछ । यसबाट हामीले हाम्रा पूर्खाको सम्पत्ति भोलिको पुस्तालाई हस्तान्तरण गर्न सक्नेछौँ ।’

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरूको असर कम गर्न हाम्रो क्षमता र स्रोत धेरै कम रहेकोले राष्ट्रिय र स्थानीय अनुकूलन योजनाहरू कार्यान्वयन गर्न नेपाललाई स्रोत आवश्यक परेको उनले बताइन् ।

नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको वकालत गर्न निरन्तर अग्रपंक्तिमा रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

विश्वले नेपाल जस्ता देशहरूको जोखिमलाई स्वीकार गर्नुपर्ने र जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने उनले बताइन् ।

‘मलाई आशा छ कि यो मञ्च जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र विपद् जोखिमजस्ता समस्याको समाधानमा एक अवसर हुनेछ,’ डा.राणाले भनिन् ।

Published : Friday, 2025 May 16, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया